नेपाल बैंक र त्रिवि व्यवस्थापन विभागले अनुसन्धानमा सहकार्य गर्ने

काठमाडौं,२६ श्रावण ।
नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धानसम्बन्धी कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सहप्राध्यापक नवराज अधिकारी र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत होमबहादुर खड्काले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार व्यवस्थापन केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले नेपाल बैंकमा इन्टर्नसिप गर्न पाउने उल्लेख छ । त्यस्तै, उक्त विभागका विद्यार्थी र प्राध्यापकमार्फत नेपाल बैंकले आर्थिक तथा बैंकिङ क्षेत्रमा आफ्ना अनुसन्धानात्मक कार्यहरू सञ्चालन गर्ने जनाइएको छ ।
बैंकले गरेका अनुसन्धानसम्बन्धी कार्यमा व्यवस्थापन विभागमा सञ्चालित शैक्षिक कार्यक्रम एमबिए र एमबिएममा अध्ययनरत विद्यार्थीहरूलाई ग्र्याजुएसन रिसर्च प्रोजेक्ट(जिआरपी)अन्तर्गत शोधपत्र लेखनका लागि छात्रवृत्तिस्वरूप न्यूनतम पाँचजना विद्यार्थीहरूलाई बैंकले प्रतिविद्यार्थी ३० हजार रुपैयाँका दरले नगद उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । बैंकले व्यवस्थापन विभागमा एमबिए इन कर्पोरेट लिडरसिपमा अध्ययन गरेका एकजना छात्र र एकजना छात्रा गरी दुईजना सर्वोत्कृष्ट विद्यार्थीहरूलाई प्रत्येक शैक्षिकसत्रमा नगद र मेडलसहित ‘नेपाल बैंक कर्पोरेट लिडरसिप अर्वाड’समेत प्रदान गर्ने जनाइएको छ ।