अक्षरा स्कुलमा ‘बनौँ संस्कारी’ नामक पुस्तक सार्वजनिक

-रमेश गिरी
भक्तपुर, ३ भदौ : बालबालिकालाई विद्यालयस्तरबाटै संस्कारयुक्त शिक्षा दिनु पर्छ भन्ने सन्देशसहित आज काठमाडौंको काँडाघारीमा स्थित अक्षरा स्कुलमा ‘बनौँ संस्कारी’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलिया, मुटुरोग विशेषज्ञ डा. भगवाण कोईराला, पुस्तकका लेखक डा. राजु अधिकारी र स्कुलकी संस्थापक निर्देशक तथा प्रिन्सिपल अन्जु भट्टराईले ‘बनौँ संस्कारी’ नामक पुस्तक सार्वजनिक गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले आगामी मंसीर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनमा असल र संस्कारी उम्मेदवारलाई छान्न आग्रह गर्नु भएको छ ।

उहाँले भन्नुभयो, “आगामी निर्वाचन सम्पन्न गर्न मलाई उत्साह र चिन्ता दुबै छ, देश र आफ्नो भाग्य र भविश्य कोर्ने आउँदो निर्वाचनमा तपाईहरुले असल, निष्ठावान इमान्दार व्यक्तित्वलाई छान्नुहोस् र यो पुस्तक सबै उम्मेदवारलाई एक पटक पढाइदिनस् ।”

अहिलेको पुस्ताले यो पुस्तक पढेर यसको अनुशरण गर्ने हो भने अबको २०÷२५ वर्ष पछि मेरो देश र मलाई शासन गर्ने शासकहरु पक्कै पनि असल, निष्ठावान, इमान्दार र संस्कारयुक्त हुनेछन् भन्दै उहाँले त्यसबेला अहिलेको निर्वाचनमा जस्तो आचार संहिता उलंघन गर्ने, निर्वाचनमा गलत गर्नेलाई कारबाही गर्नु पर्ने र निर्वाचन आयुक्तले बिभिन्न लान्छना सहनु पर्ने अबस्था आउदैन भन्ने विश्वास गर्न सकिने बताउनु भयो ।

प्रमुख आयुक्त थपलियाले स्थानीय तहले आफ्नो ठाउँको विशेषतालाई पाठ्यक्रममा समावेश गर्नु पर्नेमा जोड दिदै अहिले गुम्दै गएको धर्म, संस्कृति, पूर्वीय संस्कार र मान्यतालाई जोगाउन यस्ता पुस्तक आवश्यक रहेको बताउनु भयो ।

सबैले आफ्ना नानी बाबु असल बनुन् भन्ने चाहना राख्ने गरेको चर्चा गर्दै उहाँले पढाईमा १०० प्रतिशतनै ल्याएर सफल भए पनि संस्कार जानेको छैन भने जीवनको परीक्षामा सफल हुन नसक्ने उहाँले बताउनु भयो । संसार बदल्ने हो भने पहिला आफैबाट सुरु गर्नु पर्छ भन्दै उहाँले मानिसले पहिला संस्कार र आफूलाई चिन्न सके मात्रै यो दुनियाँलाई चिनेर बदल्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, “सबैसँग सद्बुद्धि , सद्विचार, सदचरित्र हुनु पर्यो, बच्चैबाट संस्कार सिकाउँ, नैतिकवान बनाऔँ, भौतिक संरचनाको विकास मात्रै विकास होइन, आत्मिक विकास, नैतिक आचरणको विकास पनि ठूलो बिकास हो, त्यसैबाट आफूलाई रुपान्तरको प्रारम्भ गरौँ ।”
कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. कोइरालाले मानिसमा मानवीय गुण र संस्कार छैन भने जीवन सार्थक हुन सक्दैन भन्दै संस्कार छैन भने पैसा र भौतिक सम्पन्नताले मात्रै जीवनमा सुख नआउने बताउनु भयो ।

उहाँले भन्नुभयो, “मानिस भौतिक प्रगतिको दौडमा पैसाको मात्रै पछि लाग्दा आधारभूत मानवीय गुण बिर्सदै गएका छन्, जीवनमा पैसा पनि चाहिन्छ, भौतिक प्रगति पनि चाहिन्छ, बिज्ञान प्रगति पनि चाहिन्छ तर मानवीय गुण र संस्कार छैन भने ती सबै फिका हुन्छन् ।”
बच्चाहरुलाई सानैदेखि संस्कार सिकाउनु पर्नेमा जोड दिदै उहाँले बच्चालाई खुसी बनाउने नाममा उनीहरुले भनेको जे पनि पुरा गर्ने, उनीहरुका लागि झूटो पनि बोलिदिने र गलत गरिदिने संस्कारको विकास नगरौ भन्नुभयो ।

संस्कार घरबाटै सिकाउनु पर्नेमा जोड दिदै डा. कोइरालाले भन्नुभयो, “आफ्ना बच्चालाई समय दिऔँ, स्कुलको पाठ्यक्रममा संस्कारयुक्त शिक्षा राखौँ, कम्तीमा २४ घण्टा म झुट बोल्दिन भनेर आजैबाट प्रण गरौँ, घरबाटै बच्चालाई संस्कार सिकाऔँ, संस्कारी बनौँ ।”
त्यस अवसरमा पुस्तकका लेखक डा.अधिकारीले वास्तविक रुपमा जीवन जिउँने कलानै संस्कार भएको बताउदै उहाँले शिक्षामा जतिनै डिग्री हासिल गरेपनि संस्कार नभए त्यसको कुनै अर्थ नहुने भनाइ राख्नु भयो ।

आफूहरुले विद्यार्थीलाई संस्कारी बनाउने अभियान सुरु गरेको र त्यसकै कडी यो पुस्तक भएको बताउदै उहाँले भन्नुभयो, “घरमा एउटा ठूलो टेलिभिजन होइन, ठूलो पुस्तकालय राख्नुस्, घरबाटै संस्कार सिकाउने आन्दोलन सुरु गरौँ, पश्चिमा संस्कृति होइन, पूर्वीय संस्कार सिकाऔँ, भाग्य निर्माता र भाग्य विधाता पुस्तक हो ।”

कार्यक्रममा विद्यालयकी संस्थापक प्रिन्सिपल भट्टराईले संस्कार छैन भने शिक्षाले पूर्णता पाउदैन भन्दै संस्कारले तर्क, विचार, सोच्न सक्ने क्षमता र बाच्न सिकाउने बताउनु भयो । उहाँले भन्नुभयो, “विद्यालय, विद्यार्थी, अभिभावक र समाजले बच्चाको पढाईमा राम्रो अंक आएमा पूर्ण शिक्षा भन्ठान्छ, तर होइन संस्कार बिनाको शिक्षाले पूर्णता पाउँदैन, त्यसैले हामीले दशै पछिनै कक्षा १ देखि १० सम्म संस्कार युक्त शिक्षा दिन पाठ्यक्रमनै लागू गर्दैछौँ ।”

संस्कारलाई पाठ्यक्रममा समावेश गरेर जीवनमा उतार्नु पर्नेमा जोड दिनु पर्ने आज सार्वजनिक भएको बनौँ संस्कारी पुस्तक सफल जीवनको सेतु बन्न सफल हुने बताउनु भयो ।