उच्च शिक्षालाई योभन्दा माथि र्पुयाउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित छौँ : शिक्षामन्त्री पौडेल
काठमाडौँ,१७ भदौ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रको विकासका लागि विश्वविद्यालय तालामुक्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनुभएको छ ।
शुक्रवार ६९ औँ वाणिज्य दिवस र नवनिर्मित शैक्षिक भवन उद्घाटनको अवसरमा शङ्करदेव क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । विश्वविद्यालयका समस्या समाधान गरेर तालामुक्त विश्वविद्यालय बनाइ शैक्षिक पठनपाठनको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।
मन्त्री पौडेलले नेपालमै उच्च शिक्षाको अध्ययनका लागि के गर्नुपर्छ भन्नेबारेमा विज्ञहरूसँग मन्त्रालयले छलफल गरिरहेको पनि बताउनुभयो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले शङ्करदेव क्याम्पसलाई अध्ययनका लागि आवश्यक ठाउँ उपलब्ध गराउने कुरामा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । शैक्षिक संस्थाहरूको पूर्वाधार विकासमा जोड दिन सरकार लागिरहेको उहाँको भनाइ थियो ।





