अभिभावकको टाउको दुखाई बन्दै बालबालिकामा कार्टुनको लत
भक्तपुर । छोराछोरीमा कार्टुनको लत अहिलेका धेरै अभिभावकको टाउको दुखाईको बिषय बनेको छ । छुट्टि भएर घरमा बस्दा होस् वा कतै जादाँ होस् हरपल बालबालिका कार्टुनमा झुम्मिने गर्छन् । उनीहरुको यस बानीले शारीरिक गतिबिधी निस्क्रिय भई स्वास्थ्य समस्या निम्त्याउँदै आएको कुरा अध्ययनले बताएको छ । अर्को कुरा उनीहरुको पठनपाठनमा पनि ध्यान केन्द्रित हुन सकेको छैन । कार्टुनको लतले बालबालिकाको मानसिकता आक्रमक बनाउँदै लगेको छ । कार्टुनले बच्चालाई काल्पनिक दुनियाँमा डोहोर्याेउँने गर्छ । बच्चाहरु ठान्दछन् कि टिभीमा जे देखिन्छ त्यो नै वास्तविकता हो । त्यसैलाई उनीहरु पनि टिभीमा देखाए अनुसार गर्ने प्रयास गर्छन् । कर्टुनको कारण अहिलेका बच्चाहरु वास्तविक जीवनमा रमाउन सकिरहेका छैनन् । बालबालिकामा बालापन एकदमै संवेदनसिल अवस्था हो । यसबेला उनीहरुको मस्तिष्कमा कुनैपनि कुराले चाडै प्रभाव पार्दछ । बालापनमा परेको प्रभाव र त्यसको असर दीर्घकालसम्म रहन सक्दछ।
कार्टुनका केहि फाइदाहरु
कार्टुनको बेफाइदा मात्र छैन केहि फाइदाहरु पनि छन् । बच्चाहरु कार्टुनप्रति आकषिर्त हुनु स्वभाविक हो । अहिलेको डिजिटल युगमा बच्चाहरुले कार्टुनबाट धेरै कुरा सिकिरहेका पनि हुन्छन् । कति अभिभावकलाई थाहा नभएका कुराहरु समेत बच्चाले कार्टुनबाट आर्जन गरिरहेका हुन्छन् । खासगरी उनीहरुमा प्राविधिक ज्ञान प्राप्त हुने गर्छ ।
अहिलेको व्यस्त समयमा अभिभावकसँग आफ्ना बालबालिकासँग खेल्ने , रमाउने घुम्न जाने प्रयाप्त समयको अभावका कारण बच्चाहरु कार्टुनप्रति बढि आकर्षण हुदै गएका हुन् । कति अभिभावक बच्चासँग खेल्न, कुरा गर्न रुचाउँदैनन् । यस्तो अवस्थामा बच्चाले एक्लोपना महसुष गर्दछन् । जसको कारण उनीहरुमा कार्टुनको लत लाग्न पुग्दछ ।
बालबालिकामा अन्य शारीरिक खेल खेल्नका लागि स्थानको अभाव , खेलौनाको कमी हुनु जस्ता कारणले पनि बच्चाहरु कार्टुनबाट मनोरञ्जन लिने गर्छन् ।सानो परिवारको अभधारणका कारण बच्चासँग खेल्ने साथीहरु वा आफ्नो दाजुभाई दिदीबहिनी नहुनाले पनि बच्चाहरु कार्टुनबाट आफ्ना रिक्तता मेट्न बाध्य हुने गरेका छन् ।
कार्टुनको प्रभाव
बच्चाहरु कार्टुनमा लामो समय बिताउँछन् । ओछ्यानमा उठ् नसाथ कार्टुन हेर्ने, राती सुत्नुअघि पनि कार्टुन नै हेर्ने बानी धेरै बच्चामा हुन्छ । दिनभर बच्चाहरु कार्टुन हेर्दा हेर्दौ आफु स्वंम कार्टुन जस्तै हुन्छन् । उनीहरु अनौठो नक्कल गर्छन्, , अनौठो हर्कत गर्छन् । बच्चाहरु कार्टुनको पात्र जस्तै बन्ने अभ्यास गर्छन् । अक्सर कार्टुनमा देखाइने हिंस्रक दृश्यले बच्चाको कोमल मनमा हिंस्रक प्रवृत्तिलाई बढाव दिन्छ । उनीहरु पनि कार्टुनमा जस्तै मारपिट, हिंसा गर्न रुचाउन थाल्छन् ।
नेपाली भाषा भन्दा पनि उनीहरु जुन भाषाको बढि कार्टुन हेर्छन त्यहि भाषा बोल्नमा अभ्यस्त छन् । हिन्दी भाषामा प्रायस् सबै कार्टुनहरु आउने हुदाँ उनीहरुले हिन्दीमा बोल्ने हिन्दीमा भनेको मात्र बुझ्ने गर्छन् । कार्टुनमा बढी लिप्त हुने बच्चाहरु आक्रमक स्वभावको हुने गरेका छन्, साथसाथै जिद्दी पनि । एकै स्थानमा बसेर कार्टुन हेर्दा बच्चाको स्वास्थ्यमा असर पुग्छ । उनीहरुको शारीरिक गतिविधि सून्य हुन्छ । कार्टुनसँगै आउने जंक फूडको विज्ञापनले पनि उनीहरुको ध्यान त्यसतर्फ खिचिन्छ र जंक फूडप्रति लगाव बढ्न थाल्छ । यसले उनीहरुमा मोटोपनसँगै अन्य रोगको खतरा पनि हुन्छ ।
छुटकारा पाउने उपाय
– अभिभावकले आफ्ना बच्चालाई बढि भन्दा बढि समय दिनुपर्छ ,
– आमाबुबाले बालबालिकालाई कार्टुन मात्र होइन, अन्य मनोरञ्जनात्मक एवं जानकारीमुलक च्यानल पनि हेराउने अभ्यास गर्नुपर्छ ,
– बालबालिकाहरुले टेलिभिजनमा के हेर्दैछन्, के गर्दैछन् भन्ने कुरामा निगरानी राख्ने ,
– दिनभर टिभी हेराउनुभन्दा बच्चालाई बाहिर घुम्न लानुपर्छ । उनीहरुसँग खेल्ने, आउटडोर गेमप्रति प्रेरित गराउने ।





