कक्षा १२ को नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु

काठमाडौं, २० भाद्र ।
राष्ट्रिय परीक्षा बोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु भएको छ । कक्षा १२ को नतिजा आउँदा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अनुतीर्ण भएपछि विद्यालय तहकै पाठ्यक्रम, कक्षा भार, शिक्षण सिकाइदेखि सरकारको लगानीमासमेत सरोकारवाला व्यक्तिको चासो बढेको हो । बोर्डका अनुसार कक्षा १२ को नतिजामा एक लाख अठासी हजार चार सय १० जना अर्थात कूल परीक्षार्थीको ५१दशमलव ९० प्रतिशत नन ग्रेडिड अर्थात अनुतीर्णमा परेका छन् । बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षामा नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार एक सय ३२ गरी कूल तीन लाख ९६ हजार एक सय ८५ विद्यार्थीले परीक्षा दिएका थिए । लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अङ्क र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउन नसक्नेको प्रमाणपत्रमा एनजी (नन ग्रेडिड) लेखिने छ ।
ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धतिअनुसार नतिजा प्रकाशन गरिएको छ । जसअनुसार आंशिकतर्फ तीन हजार एक सय ३२ जनाले परीक्षा दिएकामा एक हजार दुई सय ८८ जना ४१दशमलव१२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । विसं२०७८ मा सार्वजनिक भएको नतिजामा सात हजार ६३ विद्यार्थीले तीन दशमलव छ जीपीए कटाएका थिए । कोभिड–१९ को तस्रो लहरका कारण २०७७ सालको परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो भने २०७८ मा बोर्डले केन्द्र तोकेर विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्दा चार हजार एक सय ७९ विद्यार्थीले मात्रै तीन दशमलव ६१ देखि चारजीपीए ल्याएका थिए । यसबारेमा बोर्डका अध्यक्ष डा शर्माले समग्रमा नतिजा खस्किएको देखिए पनि नतिजाले विगतको ट्रेन्डलाई पछ्याएको बताउनुभयो । अहिलेको नतिजाले सन्तोष मान्ने ठाउँ नभएकाले शैक्षिक गुणस्तर उकास्न सबै तहबाट मेहनत गर्नुपर्ने आवश्यकता खड्किएको उनले जानकारी दिनुभयो । यसवर्ष विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरिएकाले पनि आएको नतिजालाई अन्यथा लिनुपर्ने अवस्था नरहेको अध्यक्ष शर्माले बतानुभयो । शिक्षाविद् विद्यानाथ कोइरालाले प्रमुख तीन कारणले नतिजा खस्किएको बताउनुभयो ।
नेपाल अभिभावक महासङ्घका केन्द्रीय अध्यक्ष सुप्रभात भण्डारीले कक्षा १२ को नतिजामा करिब ५१ प्रतिशत विद्यार्थी अनुत्रीर्ण हुनु भनेको दुःखद र शैक्षिक गुणस्तर सन्तोषजनक नरहेको प्रष्ट भएको गुनासो गर्नुभयोे । दुईवर्ष कोभिडका कारण अनलाइन कक्षा र पढाइ प्रभावकारी हुन नसक्नु नतिजा खस्कनुको एउटा कारण रहेको भन्दै अध्यक्ष भण्डारीले यसैलाई दोष दिएर पन्छिने ठाउँ भने नभएको बताउनुभयो । उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का केन्द्रीय कोषाध्यक्ष वीरेन्द्र जयनाले कोरोना महामारीले दुईवर्ष भएको लकडाउनका कारण शिक्षण सिकाइ प्रभावकारी बन्न नसक्दा नतिजा खस्किएको बताउनुभयो । अनलाइन कक्षामा पनि सबैसँग ल्यापटप तथा मोबाइलको पहुँच नहुँदा र गाउँ फर्किएका विद्यार्थीले अनलाइन कक्षा पनि लिन नसक्दा सामुदायिक विद्यालयको नतिजा अझै खस्किएको हुनसक्ने कोषाध्यक्ष जयनाको भनाइ छ । अहिलेको नतिजाले राज्यकै लगानी, अभिभावकको लगानी र स्वयं विद्यार्थीको भविष्यमा पनि प्रश्न चिन्ह खडा भएको उहाँले बताउनुभयो । कोषाध्यक्ष जयना अनिवार्यले पाँच वटा विषय रहेकोमा लकडाउनकै बेलामा नयाँ एक विषयको पाठ्यक्रम थपेर छ विषयलाई अनिवार्य गर्नु तर त्यसको तयारी कक्षाको सिकाइको तयारी नगर्नु, विषय शिक्षकको अभाव हुनुले पनि नतिजालाई असर पारेको बताउनुभयो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष दीपीका थापा रिमालले नतिजा सन्तोषजनक नहुनमा लकडाउन मुख्य कारण भएको बताउनुभयो ।
अनलाइन कक्षा स्कुलदेखिनै प्रभावकारी नहुनु, अनलाइनका लागि प्रविधि सबैसँग नहुनु र विद्यार्थी अनलाइन कक्षामै नबसिदिने, सबै कक्षाभार सिध्याउन नसक्ने समस्या रहेकाले शिक्षण सिकाइ नै प्रभावकारी नभएर नतिजालाई असर गरेको उनको भनाइ छ । पाठ्यपुस्तक सजह उपलब्ध नहुनु र कतिपय पढाइ नै नभएका पाठबाट प्रश्न आएको गुनासो विद्यार्थीबाट आउनुले पनि समस्या छ भन्ने देखाएको प्याब्सन उपाध्यक्ष थापाले बताउनुभयो । कक्षा १२ मा यस वर्षको नतिजामा चार हजार एक हजार ७९ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ३० हजार एक सय सात जनाले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए, ६५ हजार दुई सय ८४ जनाले दुई दशमलव ८१ देखि तीन दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले दुई दशमलव ४१ देखि दुई दशमलव ८० जिपिए, १० हजार ९०० जनाले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए र ३५ जनाले एक दशमलव ६१ देखि २ जिपिए ल्याएका थिए ।