कक्षा १२ को नतिजापछि एनओसी लिनेको संख्या बढ्यो
काठमाडौं, २२ भाद्र ।
कक्षा १२ को नतिजा सार्वजनिक भएपछि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा गत शुक्रबार सार्वजनिक गरेको थियो । त्यसयता मात्रै दुई हजार बढी विद्यार्थीले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले औषतमा दैनिक सात सयले एनओसीका लागि आवेदन दिने गरेको बताए । शुक्रबारदेखि यता दुई हजार १ सय ३ एनओसी जारी भएको छ । शुक्रबार ३ सय २३, आइतबार ५ सय ७६, सोमबार ६ सय २५, मंगलबार ५ सय ७९ जारी भएको शाखाले जनाएको छ । शाखाले अहिले आवेदन तथा आवेदन भेरिफिकेसन अनलाइनमार्फत गर्दै आएको छ । शाखाले आवेदन परेको २४ घण्टाभित्र भेरिफिकेसन गर्ने र भेरिफिकेसन भएको २४ घन्टाभित्र एनओसी जारी गरिरहेको छ । कागजात पुगेको खण्डमा आवेदन दिएको ४८ घन्टाभित्र आवेदकले एनओसी प्राप्त गरिरहेका छन् । विद्यार्थीहरुले सबैभन्दा बढी जापान त्यसपछि अस्ट्रेलिया, युके, अमेरिका, कोरियालगायत देशका लागि एनओसी लिइरहेको शाखा प्रमुख वस्तीले जानकारी दिनुभयो । अहिले १ सय ४ देशका लागि विद्यार्थीहरुले एनओसी लिइरहेको शाखाले जनाएको छ ।
अहिले आवेदन लिने तथा फेरिफिकेसन गर्ने काम अनलाइन हुन्छ । तर एनओसी लिनको लागि भौतिक उपस्थित हुनुपर्ने अवस्था छ । शाखाले अब पेपरलेस तथा फेसलेस प्रक्रिया मार्फत एनओसी बनाउने तयारी गरिरहेको शाखा प्रमुख वस्तीले बताउनुभयो ।





