छापाखाना सञ्चालन नहुँदा संरचना जीर्ण बन्दै

बाँके, २३ भदौ : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बाँकेको खजुरामा स्थापना गरेको छापाखाना सञ्चालनमा नआउँदा त्यहाँका भौतिक संरचना जीर्ण बन्दै गएका छन् । करिब चार बिघा क्षेत्रफलमा फैलिएको जनक शिक्षाको जग्गामा सरकारले २०६२ सालमा छापाखाना भवन र त्यस लगत्तै थप दुईवटा भवन निर्माण गरेको थियो । छापाखाना र गोदामका लागि निर्माण गरिएका ती भवन अहिले प्रयोगविहीन अवस्थामा जीर्ण बन्दै गएका हुन् ।

साबिक मध्य र सुदूरपश्चिम जिल्लाका लागि पाठ्यपुस्तक छाप्ने उद्देश्यले सरकारले २०६२ सालमा उक्त छापाखाना स्थापना गरेको थियो । छापाखाना सञ्चालन हुन नसक्दा जनक शिक्षाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा समयमै पाठ्यपुस्तक पु¥याउन सकेको छैन ।छापाखाना सञ्चालनमा नआउँदा हरेक वर्ष शैक्षिक सत्रमा पाठ्यपुस्तक खपत गर्न कठिनाइ भइरहेको उक्त केन्द्रका नेपालगञ्ज शाखा प्रमुख रविन्द्र शर्माले बताउनुभयो ।

उहाँका अनुसार, छापाखाना सञ्चालनका लागि आवश्यक विद्युतलगायत सबै पूर्वाधार तयार भएपनि केन्द्रीय योजना नबनेका कारण सञ्चालनमा आउन सकेको छैन । छापाखाना सञ्चालनमा आउन नसक्दा बनाइएकोे भवन र ‘टु–कलर’ उपकरण पनि प्रयोगविहीन अवस्थामा छ । उक्त कार्यालयले बाँके, बर्दिया, दाङ, सल्यान, पूर्वी रुकुम, प्युठान, हुम्ला र डोल्पा गरी आठ जिल्लामा पाठ्यपुस्तक पठाउँदै आएको छ ।

छापाखाना सञ्चालनमा आए लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आवश्यक पुस्तक यहीबाट छपाइ गरि पठाउन सकिने उहाँको भनाइ थियो । “विकेन्द्रीकरणको सिद्धान्तलाई आत्मसाथ गर्न सके दुई महिनाभित्र छापाखाना सञ्चालन गर्न सकिन्छ । नारा विकेन्द्रीकरणको लगाउने काम केन्द्रिकृत गर्ने परम्परा अन्त्य नहुँदासम्म छापाखाना सञ्चालनमा आउन कठिन छ”, शाखा प्रमुख शर्माले भन्नुभयो, “खजुरामा छापाखाना सञ्चालनका लागि बजेटभन्दा पनि सञ्चालन गर्नुपर्छ भन्ने मानसिकता ठूलो कुरा हो ।”

छापाखाना सञ्चालनका लागि फोर–कलरको उपकरण खरिद, पर्खाल निर्माणलगायत पूर्वाधार निर्माण गर्न करिब रु. १० करोड वजेट आवश्यक पर्ने उहाँको भनाइ थियो । उक्त छापाखाना तत्काल सञ्चालनमा ल्याए पाठ्यपुस्तक अभावको समस्या समाधान गर्न सकिने उहाँको भनाइ थियो । खजुराबासीले पटकपटक उक्त छापाखाना सञ्चालन गर्न माग गर्दै आएका छन् । छापाखाना सञ्चालनले सय बढीलाई रोजगारी दिनसकिने अपेक्षा गरिएकोे छ ।

विगतमा छापाखाना सञ्चालनका लागि पटक–पटक पहल गरिएको खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ बाँके शाखाका वरिष्ठ उपाध्यक्ष सागर ज्ञवालीले उक्त छापाखाना सञ्चालन भए समयमै विद्यार्थीको हातमा पुस्तक पु¥याउन सकिने बताउनुभयो ।