डा.भगवान कोइरालाले जिते ‘छैठौं उज्ज्वलतारा दौड’ को पुरस्कार

काठमाण्डौ, ८ असोज । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले शनिबार काँडाघारीमा सम्पन्न ‘छैठौं उज्ज्वलतारा दशैं रन फर गुड हेल्थ’ दौडको पुरस्कार जितेका छन् ।

उज्ज्वल तारा स्कुल काँडाघारीले आयोजना गरेको ५ किलोमिटर दुरीको सो दौडको उद्घाटनका विशिष्ट अतिथि र दौडका प्रतिष्पर्धि समेत रहेका डा.कोइराला ५५ वर्ष उमेर माथि समूहको पुरुषतर्फको विधामा तेस्रो भएकाहुन् । उनले आफ्नाउमेर समूहका २७ प्रतिष्पर्धिलाई उछिनेर तेस्रो भई पदक, ट्रफि र प्रमाणपत्र पाए ।

विजेता डा.कोइरालालाई गल्फ खेलका गुरु घनश्याम थापा, दौड कार्यक्रम संयोजक नेपाली सेनाका महासेनानी विष्णु कार्कीले पुरस्कार वितरण गरेका थिए भने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीले फूलको विरुवा सहितको गमला उपहार प्रदान गरीन् । आफैं वरिष्ठ मुटुरोग विशेषज्ञ रहेका डा.कोइरालालाई ह्याम्स अस्पतालले प्रदान गरेको ८ हजार रुपैयाँ बराबरको मुटुरोग परिक्षण प्याकेज पनि पुरस्कार पाए ।

सो विधामा पुरुषतर्फ ज्ञानकृष्ण श्रेष्ठ पहिलो र रुद्र नगरकोटी दोस्रो भएका थिए । सोही समूहको महिलातर्फ मीनाकुमारी मगर पहिलो, सावित्रा रायमाझि दोस्रो र कल्पनाआचार्य तेस्रो भईन् ।

यसैगरि १८ वर्ष उमेर माथिको खुल्ला समूह विधामा महिलातर्फ स्वस्तिक तिरुवा पहिलो, सुनिताता मांग दोस्रो र आभ्या केसी पहिलो भईन् भने पुरुषतर्फ दिनेश खड्का पहिलो, निरज भट्ट दोस्रो र यामराज खत्री तेस्रो भए । यो समूहका पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रोेले ५ हजार नगद प्रदान पुरस्कार पाए ।

यसैगरि युगल समूहतर्फ कविता र गोविन्द कार्कीको जोडी पहिलो, सविता र अभिषेक उपाध्यायको जोडी दोस्रो तथा प्रकाश र चुना कटुवालको जोडी तेस्रो भयो । अभिभावक विधाको महिलातर्फ ज्योति कार्की पहिलो, निमालामा दोस्रो र सविना केसी तेस्रो भइन् भने पुरुष तर्फ सुनिल कार्की पहिलो, राजेन्द्र न्यौपाने दोस्रो र प्रधुम्न केसी तेस्रो भएका थिए ।

१८ वर्षभन्दा माथिको उमेर समूहका विजेता बाहेक अन्य विजयीहरुलाई पोखरा र चितवनकोे विभिन्न होटेलमा खानेबस्ने सुविधा सहितको पुरस्कार र विभिन्न अस्पतालको निशुल्क स्वास्थ्य जाँच पुरस्कार पनि पाए । विभिन्न ७ विधामा आयोजित सो दौडका विजयीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा तथा ७ नं वडाध्यक्ष भिमसेन थापा, ९ का अध्यक्ष अनिल थापा, सल्लाहकार सुष्मा पोखरेल, डा.ध्रुव खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका सहभागीरुलाई विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्की, भाइस प्रिन्सिपल सगुन प्रधान जोशीले पदक वितरण गरेका थिए। सहभागिता शुल्क वापत संकलित सबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफा मूलक वाल मुटुरोग अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम संयोजक कार्कीले बताए ।