विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित
काठमाडौं,१० असोज ।
बाजुरामा विषय शिक्षक नहुँदा विद्यार्थीको पढाई प्रभावित भएको छ । बुढीनन्दा नगरपालिका वडा न ३ को सिराडीमा रहेको श्री पञ्चलक्ष्मी आधारभुत विद्यालयमा गणित नेपाली र विज्ञान विषय पढाउने शिक्षक नभएको पाइएको हो । कक्षा १ देखि कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अलग अलग विषय पढाउने शिक्षक नहुँदा पढाइमा बाधा पुगेको विद्यार्थीहरूको गुनासो रहेको छ ।
विद्यार्थीले पाउनु पर्ने शिक्षा नपाएको अनि गणित विज्ञान त अहिले सम्म पाना पनि नहेरको हुँदा परीक्षामा कसरी पास हुने भन्ने चिन्ता विद्यार्थीलाई रहेको जनाइएको छ ।
पढाई प्रभावित भएको सबै पक्षलाई अवगत हुँदा हुँदै कसैले पनि विषय शिक्षक राख्नु पर्ने चासो नदेखाएको विद्यालय प्रशासनको दाबी छ । विषय शिक्षकको अभावले विद्यार्थीको पढाई प्रभावित हुन पुगेको उक्त विद्यालयका प्रधानाध्यापक मदनराज पाध्यायले स्वीकारेका छन ।
अब तत्काल सबै पक्षलाई खबर गरेर यस समस्याको समाधानका लागी पहल गर्ने विद्यालय प्रशासनले जनाएको छ ।





