त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष बनाउन चलखेल

काठमाडौं,११ असोज ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत भदौ २८ गते सात दिने सूचना जारी गरी माग गरेको त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि ३८ जनाले आवेदन दिएको जनाइएको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलको संयोजक, राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य पुष्परमण वाग्ले र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशी सदस्य रहेको सिफारिस समितिले माग गरेको आवेदन अनुसार अध्यक्ष बन्न ३८ जनाले आवेदन दिएको जनाइएको छ ।
तत्कालीन अध्यक्ष लालुप्रसाद पौडेलको पदावधि गत साउन १८ मा सकिएपछि सेवा आयोग अध्यक्षविहीन रहेको छ । अध्यक्ष पदमा आवेदन दिने अधिकांश विश्वविद्यालय अनुदान आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको लागि सिफारिस गरेका व्यक्तिहरू रहेको उच्च स्रोतले जानकारी दिइएको छ ।
आवेदन दिएका मध्ये तीन जनाको नाम सिफारिस समितिले कुलपतिसमक्ष पेस गर्ने र तीमध्ये १ जनालाई अध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ । स्रोतका अनुसार आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिलाई नियुक्तिको लागि सिफारिस समितिमा चर्को दवाव दिन थालेको जनाइएको छ ।
पुनः तिनै व्यक्तिलाई नियुक्तिका लागि दवाव सिर्जना गर्दा मुलुकको करिब ८० प्रतिशत दायित्व बोकेको त्रिविको शाख नै ध्वस्त हुने विज्ञहरू बताउँछन् । ओली सरकारको बर्हिगमनपछि सत्ताधारी कार्यकर्ताकै बन्धक बनेको त्रिवि सेवा आयोगमा पुनः खुला प्रतिस्पर्धाका नाममा दलका नेता नियुक्त हुने हो भने त्रिविलाई विश्वविद्यालय होइन दलको भातृसंस्थाका रुपमा विकास गर्दै जानु पर्ने सरोकारवालको सुझाव छ ।