त्रिविले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानको अनुसन्धान गर्दै

काठमाडौं,२४ असोज ।
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा रैथाने धानमा अनुसन्धान थालेको छ । कञ्चनपुरको बेलौरी नगरपालिकास्थित शान्तिपुर, बैतडीको पाटन र डडेल्धुराको जोगबुढा परगाउँमा स्टेशन बनाएर १२ किसिमका रैथाने धानको तीन वर्ष अनुसन्धान गरी निष्कर्ष निकाल्ने गरी अनुसन्धान सुरु भएको हो ।
अनुसन्धानमा त्रिविको वनस्पति विभागका प्रमुख प्राडा रामकैलाशप्रसाद यादव, डा चन्द्र पोखरेल, डा लालबहादुर थापा र सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणानन्द पन्त संलग्न रहेका छन् ।
अनुसन्धान टोलीका सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक गुणानन्द पन्तका अनुसार सुदूरपश्चिमका राम्रा गुण भएका धान हराउनुका कारण खोजी सुरु भएको छ ।
सुदूरपश्चिमका तीन जिल्ला बैतडीको पाटन नगरपालिका कागसेली, डडेल्धुराको परशुराम नगरपालिकाको परिगाउँ र कञ्चनपुरको बेलौरीमा १२ वटा जातिमा एक सय ८० प्लटमा लगाइएको धानमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
रैथाने जातको धानको अध्ययन गर्न तीन फरक–फरक भौगोलिक अवस्थितिको छनोट गरिएको छ । डडेल्धुराको जोगबुढामा माइती धान, झिनी, शान्ति र चिउडी जातको धान, कञ्चनपुरको बेलौरीमा भने अञ्जना, घिउपुरी, लालचन्द र सुठीयारी जातको रैथाने धानमाथि अनुसन्धान भइरहेको छ ।
सुदूरपश्चिममा लगाइने परम्परागत धानको सुक्खा सहनसक्ने क्षमता र उत्पादनको परिमाण कस्तो छ भनेर अध्ययन अनुसन्धान गरिन लागेको उहाँले बताउनुभयो ।