शिक्षकले सांसदको टिकट पाएनन्
काठमाडौं,२४ असोज ।
आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कार्यरत शिक्षकले उम्मेदवारीको अवसर पाएनन् ।
त्यसैले कार्यरत शिक्षक कसैले पनि शिक्षक पदबाट राजीनामा गरेका छैनन् । गत स्थानीय तह निर्वाचनमा वडा सदस्यदेखि नगर प्रमुखसम्मको पदमा शिक्षकले उम्मेदवारी दिएका थिए । स्थानीय तहमा राजनीतिक दलले शिक्षकलाई पत्याए पनि प्रतिनिधिसभा र प्रदेशसभामा नेताहरुले शिक्षकलाई उम्मेदवारीको अवसर दिएनन् ।
गत स्थानीय निर्वाचनका लागि झण्डै एक हजार शिक्षकले पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभा र प्रदेशसभामा पूर्वशिक्षक तथा शिक्षाकर्मीले उम्मेदवारीको अवसर भने पाएका छन् । यसैबीच आगामी निर्वाचनमा निर्वाचन अधिकृतका रूपमा शिक्षकलाई खटाउने भएको छ ।
यसका साथै विद्यालयमा मतदान केन्द्र कायम गर्ने विगतको परिपाटीले यस पटक पनि निरन्तरता पाउने भएको छ ।





