प्रदेश नं.१ मा कक्षा ११–१२ पढाइ हुने विद्यालयमा विद्यार्थीको सङख्या बढी
काठमाडौं,२७ असोज ।
प्रदेश नम्बर १ मा तल्लो कक्षाका विद्यालयमा भन्दा माथिल्लो कक्षामा पढ्ने विद्यार्थी बढी रहेका छन् । प्रदेश १ मा प्रति विद्यालय कक्षा ११–१२ मा ४५८ जना विद्यार्थी रहेका छन् । माध्यमिक तह कक्षा ११–१२ मा विद्यालय–विद्यार्थी अनुपात १ः४५८ पर्न गएको हो ।
शैक्षिक सत्र २०७८ मा सामुदायिक विद्यालयमा प्रति विद्यालय विद्यार्थी अनुपात आधारभूत तह (कक्षा १–५), आधारभूत तह (कक्षा ६–८), माध्यमिक तह (९–१०) र माध्यमिक तह (कक्षा ११–१२) मा क्रमशः १०४, १०३, ९९ र १६० रहेकोमा प्रदेश प्रदेश नं। १ मा क्रमशः ८२, ८४, ८८ र ४५८ रहेको आर्थिक सर्वेक्षण २०७८–७९ मा उल्लेख गरिएको छ ।
शैक्षिक सत्र २०७८ मा सामुदायिक विद्यालयमा शिक्षक विद्यार्थी अनुपात आधारभूत तह (कक्षा१–५), आधारभूत तह (कक्षा ६–८), माध्यमिक तह (९–१०) र माध्यमिक तह (कक्षा ११–१२) मा क्रमश २१, ३१, २२ र ५७ रहेकोमा प्रदेश नं १ मा यस्तो अनुपात क्रमशः १९, २७,२१ र ६७ रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
शैक्षिक सत्र २०७८ मा प्रदेश नं.१ मा विद्यालयमा तहमा जम्मा छात्रा ५ लाख ६१ हजार ६०९ र छात्र ५ लाख ७९हजार २९३ गरी जम्मा ११ लाख ४० हजार ९०२ जना भर्ना भएका छन् ।
शैक्षिक वर्ष २०७८ मा प्रदेश नं। १ मा आधारभूत तह (कक्षा १–५) को औषत भर्नादर ९६.९ प्रतिशत रहेको छ। आधारभूत तह (कक्षा ६–८) मा औषत खुद भर्नादर ८२.९५ प्रतिशत रहेको छ।त्यसैगरी आधारभूत तह (कक्षा १–८), माध्यमिक (कक्षा ९–१०), माध्यमिक –कक्षा ११–१२) र माध्यमिक (कक्षा ९–१२) मा क्रमशः ८९.९२, ८१.१३, ३६.५७ र ५८.९ प्रतिशत रहेको छ ।
शैक्षिक सत्र २०७८ मा देशभरमा सामुदायिक विद्यालयमा कार्यरत स्थायी, अस्थायी र राहत समेत गरी शिक्षकको कुल संख्या १ लाख ५६ हजार १७६ रहेकोमा प्रदेश नं। १ मा ३० हजार ८५१ रहेका छन् ।





