
अध्यक्ष र प्रधानाध्यापकद्धारा शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता
काठमाडौं,०२ कार्तिक ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले शैक्षिक गुणस्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।
नगरपालिकाभित्र सञ्चालित मावि, निमावि र आविका विव्यास अध्यक्षले १५ तथा प्रधानाध्यापकहरुले १७ बुँदामा शिक्षा सुधारका काम गर्ने नगरपालिका समक्ष लिखित प्रतिबद्धता जनाएका हुन् ।
शिक्षामा परिवर्तन गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले शिक्षा सुधारसम्बन्धी चारदिने अभिमुखीकरणमा सहभागी गराएर प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । नगरपालिका र प्रधानाध्यापक तथा विव्यास अध्यक्षसँग भएको प्रतिबद्धता पूरा गर्नमा ध्यानदिन उहाँले निर्देशन समेत दिनुभयो ।
अध्यक्षले शिक्षा नियमावलीको नियम २८ मा उल्लेख भएका काम, कर्तव्य र अधिकारको कार्यान्वयन गर्ने, बालबालिका विद्यालय आउने जाने बाटो मर्मत गर्ने, शौचालयको मर्मतसम्भार र सरसफाइ गर्ने, शुद्ध पिउने पानीको प्रबन्ध गर्ने, भौतिक पूर्वाधारको मर्मत सम्भारमा जोड दिने, शिक्षक र विद्यार्थीको उपस्थितिका लागि सहजीकरण, विद्यालयमा नियमित पठनपाठनको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै, पदाधिकारी आलोपालो गरी विद्यालयमा नियमित उपस्थित हुने, फूलबारी र करेसाबारी निर्माणमा सहजीकरण गर्ने, विद्यालय परिसर र कक्षाकोठाको सरसफाइ, विद्यार्थी, शिक्षक र अभिभावक प्रोत्साहन कार्यक्रम, स्थानीयस्तरमा स्रोतको पहिचान, सङ्कलन र उपयोगमा वृद्धि गर्नेलगायतका विषयमा प्रतिबद्धता जनाएका हुन् ।
प्रअहरुले वार्षिक कार्ययोजना र शैक्षणिक कार्ययोजनाको निर्माण÷कार्यन्वयन गर्ने, नगर शिक्षा नियमावली २०७६ को नियम ५४ मा तोकिएका प्रधानाध्यापकका काम, कर्तव्य र अधिकारको कार्यान्वयनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै, बिहान ठीक १० बजेदेखि ४ बजेसम्म दैनिक विद्यालय सञ्चालन र तोकिएको समय सीमाभित्र नियमित पठनपाठन, शिक्षकको अनुपस्थिति भएको समय र शिक्षकको अभाव भएका विद्यालयमा कक्षाका क्षमतावान विद्यार्थीलाई बैकल्पिक शिक्षकका रुपमा शिक्षणको अवसर दिने, अनुपस्थित विद्यार्थीका अभिभावकसँग कक्षा शिक्षकबाट सम्पर्क र विद्यालय समुदाय सम्बन्ध सुधार, विद्यालय परिसरको नियमित सरसफाइ र पुष्प बाटिका निर्माण, जरुरी कामबाहेक विद्यालयमा शिक्षकको नियमित उपस्थितिमा सुनिश्चितता, विद्यालय स्थापनाका दिन अभिभावकको सहभागितामा छात्रवृत्ति वितरण, परीक्षाको नतिजा विश्लेषण गरी सोको निचोड अभिभावकलाई बुझाउने लगायतका १७ बुँदामा प्रतिबद्धता जनाएका हुन् ।
सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले विज्ञ उपस्थित गराएर चारदिने शिक्षा सुधारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।