दरबन्दी विवरण समयमा नै नपाउँदा बार्षिक कार्यतालिका प्रभावित हुने आशंका

काठमाडौं,२३ कात्तिक ।
शिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका रिक्त दरबन्दी विवरण समयमा नै नपाउँदा प्रभावित हुने देखिएको छ ।
बार्षिक कार्यतालिका अनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको आयोगमा समयमा नै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विवरण नपठाउँदा प्रभावित हुने देखिएको हो ।
केन्द्रबाट प्राप्त रिक्त दरबन्दी र गत वर्षको विज्ञापनमा पुरा हुन नसकेका दरबन्दी अनुसार विज्ञापन गर्ने तयारी थालेको आयोग समयमा नै विवरण नपाउँदा बार्षिक कार्यतालिका प्रभावित हुने आशंका उब्जिएको आयोगले जनाएको छ ।
शिक्षक सेवा आयोगको नियमावली २०५७ को उपनियम ८ को ४ बमोजिम शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८९ चैत्र मसान्तसम्म रिक्त हुन आउने दरबन्दी विवरण शिक्षक पदपुर्तिका लागि शिक्षक सेवा आयोगमा असोज मसान्त भित्र पठाई सक्नुपर्ने व्यवस्था छ । त्यसैका आधारमा नियम ११ क बमोजिम प्राप्त दरबन्दीका आधारमा कार्तिक महीना भरीमा खुला तथा समावेशी समुहहरुको प्रतिशत निर्धारण गर्नुपर्ने हुन्छ ।
केही शिक्षा विकास तथा समन्वय एकाइले रिक्त शिक्षक दरबन्दी विवरण केन्द्रमा नपठाउँदा आयोगलाई दरबन्दी विवरण पठाउन केही ढिलाइ भएको केन्द्रले जानकारी दियो ।