गोकुलेश्वर माविमा दलको चुनावी सभा आयोजना गरिएको विषयमा स्पष्टीकरण माग
काठमाडौं,२५ कात्तिक ।
दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ९ स्थिति गोकुलेश्वर उच्च माध्यामिक विद्यालयमा दलको आयोजनामा निर्वाचन प्रचारप्रसारको लागि चुनावी सभा आयोजना गरिएको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) समेतलाई स्पष्टीकरण सोधेको हो ।
विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशी, काङ्ग्रेस प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश सभा अन्तर्गत दार्चुला १ (१)मा नेपाली काङ्ग्रेसका उम्मेदवार विक्रम सिंह धामी र प्रदेशसभा १ (२)मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामीलाई सोधेको छ ।
आयोगले दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कार्वाही गर्न निर्देशनसमेत दिएको छ भने प्रमुख जिल्ला अधिकारीलाई ४ दिनभित्र यस घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।





