माध्यमिक तहको नतिजाले डरलाग्दो दृश्य सिर्जना

काठमाडौं,२७ कात्तिक ।
माध्यमिक तह तृतीय श्रेणीको नतिजाले शिक्षक व्यवस्थापनको पाटोमा डरलाग्दो दृश्य देखापरेको छ । निम्न माध्यमिक र प्राथमिक तहको नतिजा अझै सार्वजनिक भइसकेको छैन त माध्यमिक तहमा शिक्षक सिफारिस भइसकेको अवस्था छ ।
माध्यमिक तह खुलामा एक हजार ५५२ पदका लागि विज्ञापन गरिएकोमा एक हजार १८२ जनाको मात्र सिफारिस भएको छ । आवश्यकताभन्दा ३७० जना कम शिक्षक सिफारिस हुनुले शिक्षकप्रतिको अनाकर्षण बढ्दै जानु, योग्यहरु अरु पेसामा पलायन हुनुलाई मात्र औँल्याएको छैन भविष्यमा शिक्षक उपलब्ध हुनेछन् वा छैनन् भन्ने गम्भिर प्रश्न पनि सिर्जिएको छ ।
आयोगको प्रश्न तयारीमा समस्या रहेको प्रतिस्पर्धीहरूको गुनासो वा आरोप छ । तर आयोगले प्रश्नमा कुनै पनि समस्या नरहेको दावी गर्दै आएको छ । हालै त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको परीक्षामा कोही पनि उत्तीर्ण नभएकाले त्रिविको अध्यापनमा समस्या हो कि भन्ने भनाइ पनि सुनिदै आएको छ । तसर्थ योग्य शिक्षक उत्पादन हुन नसक्नुमा कतै त्रिविको कमजोरी पो हो कि भन्ने केही शिक्षाविद्ले धारणा व्यक्त गर्ने गरेको पाइएको छ ।
आयोगका पदाधिकारी नीति अनुसन्धान प्रतिष्ठानमा पुगेर कम शिक्षक सिफारिस हुनुमा रहेको कमजोरीका बारेमा अनुसन्धान गरिदिन अनुरोध पनि गरिसकेको जनाइएको छ । प्रतिष्ठानका पदाधिकारीले यसलाई सकारात्मक रूपमा लिएको बुझिएको छ ।
आयोग यतिबेला यस वर्षका लागि माग गर्नुपर्ने रिक्त दरबन्दीको विवरणको प्रतिक्षामा छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले असोज मसान्तभित्र त्यस्तो सङ्ख्या आयोगलाई उपलब्ध गराइसक्नुपर्ने भए पनि अझै उपलब्ध गराएको छैन । आयोगका अध्यक्ष रेग्मीले यसपटक सिफारिस नभएका ३७० जनाका लागि आगामी पटक पुनः विज्ञापन आह्वान गरिने भएको जानकारी दिनुभयो ।