उत्कृष्ट एक पाठकलाई हरेक महिना १० हजार पुरस्कार दिने

काठमाडौं,२७ कात्तिक ।
कैलालीको टीकापुर सामुदायिक पुस्तकालयमा उत्कृष्ट एक जना पाठकले हरेक महिना रु.१० हजार पुरस्कार पाउने भएका छन् । पठन संस्कृतिलाई प्रभावकारी बनाउन टीकापुरस्थित सरोकार समूह र पुस्तकालयबीच भएको सहमतीअनुसार पुस्तकालयले यस्तो व्यवस्था गरेको हो ।
सरोकार समूहका अध्यक्ष प्रशान्त अर्याल र पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यो व्यवस्था भएपछि सामुदायिक पुस्तकालयमा गएर अध्ययन गर्नेहरु मध्येबाट प्रत्येक महिना एकजना पाठकले सो पुरस्कार पाउने भएका हुन् ।
समूहका अध्यक्ष अर्यालले पछिल्लो समय प्रविधि र स्मार्ट फोनले पढ्ने बानी हट्दै गएको बताउनुभयो ।
उहाँले पठन संस्कृति प्रवद्र्धन गर्न शुरुमा एक वर्ष यो कार्यक्रम गरिने र प्रभावकारी भए कार्यक्रम थप गर्ने बताउनुभयो । पुस्तकालयमा १० हजार बढी विभिन्न विधाका पुस्तक छन् । अहिले दैनिक ३० देखि ३५ जना नियमित पाठक रहेको बताइएको छ ।
२०६४ सालमा स्थापना भएको पुस्तकालयमा वाचनालय र बाल कक्षको व्यवस्था छ । बिदाको दिन बाल कक्षमा बालबालिका रमाउने र पढ्ने व्यवस्था छ । पुस्तकालयमा करिव दुई दर्जन ल्यापटप र कम्प्यूटर रहेको जनाइएको छ । त्यहाँ बालबालिकालाई कम्प्यूटर सिक्ने व्यवस्था पनि मिलाइएको छ ।
टीकापुर सामुदायिक पुस्तकालय र सरोकार समूहले कार्यविधि बनाएर पुरस्कार वितरण गरिने छ । एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापा र सरोकार समूह अध्यक्ष अर्यालले रकमको व्यवस्थाबारे आश्वस्त पार्नुभएको सचिव भट्टराइले बताउनुभयो ।
सम्झौँता हस्ताक्षर कार्यक्रममा पुस्तकालयका अध्यक्ष ताराप्रसाद जोशीले पठन संस्कृति पुनर्जागरण गर्न टीकापुर सरोकार समूहले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा अन्य कार्यक्रममा पनि सरोकार समूहसँग सहकार्य गर्ने अवसर मिल्ने आशा प्रकट गर्नुभयो । पुरस्कारको व्यवस्थाले पाठकलाई प्रोत्साहन गर्ने जोशीको भनाइ छ ।