विश्वविद्यालयहरू राजनीतिबाट मुक्त हुनुपर्छ: प्रधानमन्त्री देउवा

काठमाडौं,२९ मंसिर ।
प्रधानमन्त्री एवम् काठमाण्डौ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । विश्वविद्यालय राजनीतिबाट मुक्त रहि स्वतन्त्ररूपबाट प्राज्ञिक अध्ययन, अनुसन्धानमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आज बिहीवार आयोजित पहिलो चरणको २८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाण्डौ विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवम् प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान् जनशक्ति उत्पादन गरि देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउँदै आएको बताउनुभयो ।
नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाण्डौ विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको बताउँदै देउवाले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभइ विदेशमा पनि महत्त्वपूणर् संस्थामा आवद्ध भइ उत्कृष्ट सेवा पुर्याउँदै आउनु सबैका लागि गर्वको विषय भएको उहाँले बताउनुभयो ।
उहाँले काठमाण्डौ विश्वविद्यालयका विभिन्न सङ्कायमा दीक्षित भएका विद्यार्थीलाई बधाई व्यक्त गर्नुभएको छ । भविष्यमा भौतिक तथा प्राज्ञिक विकासका लागि निरन्तर सहयोग प्राप्त हुने उहाँले अपेक्षा व्यक्त गर्नुभएको छ ।
त्यस क्रममा देउवाले काठमाण्डौ विश्वविद्यालयबाट पहिलो पटक मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा छ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एक जना गरि सात जनालाई उपाधि प्रदान गर्नुभएको छ ।
काठमाण्डौ विश्वविद्यालयमा अध्ययनरत विभिन्न सङ्कायका स्नातक, स्नातकोत्तर र विद्यावारिधिका गरि एक हजार छ सय ९९ जना विद्यार्थी दीक्षित भएका छन् ।