शिक्षामा पालिकाको अभ्यास र उपलब्धि सुन्दै नर्वेको टोली

काठमाडौं,०१ पुष ।
शिक्षा क्षेत्रमा पालिकाले गरेको अभ्यास र उपलब्धिका बारेमा नर्वेस्थित विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुको टोलीले जानकारी लिएका छन् । भक्तपुरको भ्रमणमा आएको प्राध्यापकहरुको उक्त टोलीलाई नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफूहरुले गरेको अभ्यास र भएको उपलिब्धका बारेमा जानकारी दिनुभयो ।
नगरपालिकाद्वारा सञ्चालित ७ वटा शैक्षिक संस्थाहरु मार्फत देशभरका ७२ जिल्लाका ७ हजार भन्दा बढी विद्यार्थीले शिक्षा प्राप्त गरिरहेका छन् । नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि आवश्यक पूर्वाधारहरु निर्माणको क्रममा रहेको पनि प्रजापतिले टोलीलाई जानकारी गराउनुभयो । नगरपाकिलाले उच्च शिक्षाका लागि विद्यार्थीलाई ५ लाख रुपैयाँसम्मको शैक्षिक ऋण, वार्षिक ३ करोड भन्दा बढी छात्रवृत्ति दिँदै आएको समेत उहाँले बताउनुभयो ।
टोलीले भक्तपुरका दुईवटा इञ्जिनियरिङ कलेजको अवलोकन भ्रमण समेत गरेका थिए । भ्रमण गर्नेहरुमा युनिभर्सिटी अफ साउथ इष्टर्नका प्रोफेसर डा. ब्रिट् मोल्डस्ेटड, प्रोफेसर डा.वेन्चे बर्गल्याण्ड, प्रोफेसर डा.नोरा फुरुभिक, प्रोफेसर डा.राजनकुमार थापा, प्रोफेसर डा.सुनिल लोहनी, युनिभर्सिटी अफ नेचुरल एण्ड लाइफ साइन्सेजका प्रोफेसर डा. क्रिष्टोप फेइफेर, नर्वेकै यूएसएनको डिपार्टमेन्ट अफ रिसर्च एण्ड इन्टरनेशनलाइजेशन वरिष्ठ सल्लाहकार थोर इगिल एड, डिपार्टमेन्ट अफ फाइनान्सका नियन्त्रक मोर्टन लार्सेन रहेका छन् ।
टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको राजनीतिक अवस्थाबारे अवगत गराउनुभयो । सो क्रममा उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र उपप्राचार्य रत्नशोभा प्रजापति लगायत उपस्थित थिए ।