अपराधका घटना हुन नदिन विद्यार्थीलाई अब चेतनामूलक पाठ्य सामग्री तयार
काठमाडौं,०४ पुष ।
शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि यहाँका स्थानीय तहका विद्यार्थीलाई नेपाल प्रहरीले पालिकाको सहकार्यमा पाठ्य सामग्री तयार पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चेतनामूलक विद्यालय पाठ्य सामग्री २०७९ तयार गरी जिल्लाका सातै पालिकासँग सम्झौता गरेर पाठ्यक्रमको रुपमा प्रयोग गरेको हो ।
विसं २०७८ चैत २४ गते भरतपुर महानगरपालिकासँग सम्झौता गरेर पाठ्य सामग्री विद्यालयमा सुरु गरिएकोमा आइतबार इच्छाकामना गाउँपालिकासँग सम्झौता गरी जिल्लाभर र्पुयाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार ती पाठ्य सामग्री केही परिमार्जन गर्दै सम्बन्धित पालिका र जिल्ला प्रहरी कार्यालयको साझेदारीमा छपाइ गरेर बाढिएको हो ।
जिल्लाका सबै विद्यालयमा पुग्ने गरी पाठ्य सामग्री व्यवस्थापन गरिँदै छ । पाठ्य सामग्रीमा लागुऔषध दुव्र्यसनी, धूमपान, मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक सञ्जालको सुरक्षित प्रयोग र महिला तथा बालबालिकाविरुद्ध हुने अपराध समावेश गरिएको छ । अधिकारीका अनुसार पुस्तकमा सामाजिक अपराध, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणीसम्बन्धी कसुर, ट्राफिक सचेतना, विपद्, जोखिम र न्यूनीकरणका उपाय, आत्महत्याका सङ्केत र बचाउने उपाय, घटनास्थलको सुरक्षा र अपराध तथ्याङ्क पद्धतिका बारेमा पुस्तकमा सामग्री राखिएको छ ।
घटना हुनै नदिन रोकथाम गर्ने उपाय, असल मानिसका कर्तव्य र जिम्मेवारी, चितवन जिल्लामा प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्कका माध्यम, आत्मरक्षा र बच्ने उपाय, चोरी तथा लुटपाट नियन्त्रणबाट बच्ने उपायका बारेमा विद्यार्थीले बुझ्नेगरी पाठ्य सामग्री तयार गरिएको अधिकारीले बताउनुभयो । स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम सञ्चालनका लागि यो पाठ्यपुस्तकसहित प्रहरी समुदायको माझमा पुगेको उहाँको भनाइ छ ।
शैक्षिक संस्थाको बीचमा संस्थागत साझेदारी निर्माण गर्ने उद्देश्यले पाठ्यक्रम तयार गरी कार्यक्रम अघि बढाइएको अधिकारीको भनाइ रहेको छ । बालबालिकालाई अपराधउन्मुख हुनबाट तथा पीडित हुनबाट जोगाउन सामुदायिक सेवा र सुरक्षाको भावना अभिवृद्धि गर्नुका साथै असल र जिम्मेवार नागरिकका रुपमा विकास गर्नका लागि यो अवधारणा अघि सारिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अब जिल्लाका सबै विद्यालयमार्फत विद्यार्थीमा चेतनामूलक पाठ्य सामग्री पुग्नेछ ।
धेरैजसो हिंसाको चपेटामा स्कुल र क्याम्पसका किशोरकिशोरी हुनेगरेको भन्दै उहाँले यो कार्यक्रम प्रभावकारी वन्ने बताउनुभयो । जिल्लाका सात पालिकामा तीन सय ३८ सामुदायिक विद्यालय रहेका छन् । यस्तै एक सय ६६ संस्थागत विद्यालय रहेका छन् । तीमध्ये सामुदायिक विद्यालयमा ९६ हजार पाँच सय ८६ र संस्थागत विद्यालयमा ८१ हजार ४८ विद्यार्थी अध्ययनरत रहेका छन् । ठूला विद्यार्थी यो पाठ्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।





