विश्वविद्यालय अनुदान आयोगद्वारा विशिष्टता प्रवद्र्धन कार्यक्रमअन्तर्गत १८ क्याम्पस छनोट

काठमाण्डौं,१७ पुष ।
विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन देशभरबाट १८ क्याम्पस छनोट गरेको छ ।
देशभरका उत्कृष्ट शैक्षिक संस्थालाई विश्वविद्यालय अनुदान आयोगले यो परियोजनाका लागि छनोट गरेको हो । क्याम्पसबाट प्राप्त प्रस्तावनाका आधारमा आयोगले विद्यार्थी पढ्दै उद्यमी बन्न पाउने अवसरका लागि छनोट गरेको छ । अनुदान आयोगले छानेको क्याम्पसमा चितवनका सप्तगण्डकी बहुमुखी , प्रेसिडेन्सी र सहिद स्मृति क्याम्पस रहेका छन् ।
यस कार्यक्रमअनुसार हरेक क्याम्पसबाट उद्यमशील बन्नका लागि ३० विद्यार्थी छनोट हुनेछन् । उनीहरूले उद्यमशीलताको तालिम लिइसकेपछि सबै प्रक्रिया पूरा गरेर विद्यार्थीले व्यवसाय गर्न रु पाँच लाखदेखि ४० लाखसम्म प्राप्त गर्नेछन् । छनोटमा परेका विद्यार्थीले देश तथा विदेशमा गएर उद्यमशीलता सम्बन्धी तालिम लिने अवसर पनि प्राप्त गर्नेछन् ।
तालिमका लागि प्रतिविद्यार्थी रु ५० हजार र पाठ्यक्रमको विकास गर्न क्याम्पसले रु १५ लाख प्राप्त गर्ने सप्तगण्डकी बहुमुखी क्याम्पस व्यवस्थापन विभागका प्रमुख डा कपिलदेव सुवेदीले जानकारी दिनुभयो ।