‘दोस्रो गोल्डेन गेट पिबिएल मेला २०७९’ भन्य समारोहबीच सम्पन्न

विद्यार्थीहरुले शैक्षिक सत्र २०७९ को अबधीमा तयार पारेका विभिन्न पिबिएल प्रोजेक्टहरु मध्ये ७० वटा भन्दा बढी चुनीएका प्रोजेक्टहरुलाई आफ्ना सिकाई अनुभवहरु सहित उच्च आत्मविश्वासका साथ सविस्तार प्रस्तुत गरेका थिए ।

===========================================

भक्तपुर । महाकालिस्थान, भक्तपुरस्थित गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूलले दोस्रो गोल्डेन गेट पिबिएल मेला २०७९ भव्यताका साथ चैत ३ गते शुक्रबार सम्पन्न गरेको छ । शिक्षालाई वास्तविक जीवनसँग जोड्ने र त्यसका लागि विद्यार्थीहरुको वैयक्तिक ईन्टेलिजेन्समा आधारित विविधिकृत क्रियाकलापहरुको गराईको अनुभवबाट गहिरो सिकाईको अवसर प्रदान गर्ने अभिप्रायले विद्यालयले विगत ९ वर्षदेखि मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित प्रोजेक्ट बेष्ड लर्निङ अर्थात एमआई पीबिएल पद्दती लाई अंगिकार गर्दै आएको हो ।

 

मेलामा उक्त नवीन पद्दती अन्तर्गत सिक्ने क्रममा विद्यार्थीहरुले शैक्षिक सत्र २०७९ को अबधीमा तयार पारेका विभिन्न पिबिएल प्रोजेक्टहरु मध्ये ७० वटा भन्दा बढी चुनीएका प्रोजेक्टहरुलाई आफ्ना सिकाई अनुभवहरु सहित उच्च आत्मविश्वासका साथ सविस्तार प्रस्तुत गरेका थिए । उक्त मेलाको उदघाटन समारोहमा भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति सदस्य डा. हरिराम सुवालको प्रमुख आतिथ्य रहेको थियो ।

प्रमुख अतिथि डा. सुवालले कार्यक्रमको अर्को आकर्षणको रुपमा रहेको विद्यार्थीहरुलाई पाठकबाट सर्जकमा रुपान्तरण गर्ने अभिप्रायले संचालन गर्दै आएको “मकै घर”का लागि शैक्षिक सत्र २०७९ मा कक्षा १ देखि ७ सम्मका विद्यार्थीहरुद्वारा सिर्जित हजारौं सिर्जनाहरु मध्येबाट छानिएका ३६ वटा सिर्जनाहरु संकलित पुस्तक “मकै घरको कोसेली १” को बिमोचन गर्नु भयो ।

बिमोचन पछि मन्तव्यका क्रममा डा. सुवालले आफ्नो अध्ययन र प्राध्यापनका अनुभवहरुलाई स्मरण गर्दै विद्यार्थीहरुलाई नयाँ समय अनुसारको नयाँ–नयाँ पद्दतीको प्रयोग गर्दै सिकाई वातावरण तयार पार्न गरेको विद्यालयको प्रयासको खुलेर प्रशंसा गर्नुभयो ।

कार्यक्रमको उपादेयता माथि प्रकाश पार्दै विद्यालयका प्रिन्सिपल तथा को–फाउण्डर सिङ्ग लामाले नेपालको शिक्षा सैद्दान्तिक मात्र भएर जीवनसँग नजोडिएको खाडललाई पुर्न एमआई पिबिएल पद्दति बिकास गरिएको, शिक्षा घोकन्ते र रटन्ते मात्र भएको भन्ने समस्या निराकरण गर्न सर्जकीय रुपान्तरणमा परिलक्षित मकै घर कार्यक्रम संचालन गरिएको र सोचाईको दायरा साँघुरो भएको भन्ने कमी पूरा गर्न कक्षा र उमेर अनुसार “ग्रेडेड म्यासिव रिडिङ कल्चर”को कार्यक्रम संचालन गर्दै आएको बताउनु भयो ।

त्यसैगरी कार्यक्रमका अर्का अतिथि भक्तपुर नगरपालिका वडा नं. ६ का महिला जनप्रतिनिधी तथा विद्यालय व्यवस्थापन समिति सदस्य रोशन मैया सुवालले विव्यसको विगत दुई कार्यकालदेखि आफू प्रत्यक्ष रुपमा संलग्न रहेको बताउँदै बच्चाहरुको बिकासका लागि विद्यालयले गर्दै आएको वृहत् नवीनतम प्रयासहरु उत्कृष्ट रहेको बताउनु भयो । साथै उहाँले अबको समयमा बच्चाहरुको शिक्षाका लागि अभिभावकहरुले लगानी गर्न कञ्जुस्याईँ गर्न नहुनेमा पनि विशेष जोड दिनु भयो ।

करीब २०० अभिभावकहरुको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रम आन्तरिक रुपमा संचालन गरिएको भएपनि विद्यालयको नवीन अभ्यासलाई नजिकबाट अवलोकन गर्न भक्तपुर, काठमाडौं, ललितपुर र चितवनबाट समेत विभिन्न विद्यालयका प्रिन्सिपल एवं शिक्षक–शिक्षिकाहरु सहभागी भएका थिए ।

आगन्तुक सबैले शिक्षक–शिक्षिकाहरुको पिबिएल मेन्टरिङको दक्षता तथा विद्यार्थीहरुको प्रभावकारी प्रस्तुती र नेतृत्व क्षमताको खुलेर प्रशंसा गरेका थिए । विद्यालयका सिईओ शिब श्रेष्ठद्वारा संचालित उक्त कार्यक्रमको सभापतित्व संस्थापक निर्देशक अञ्जु जोशीले गर्नुभएको थियो ।