हुम्लाका विद्यार्थीलाई अमेरिकाको अध्ययनरत विद्यार्थीद्धारा पोशाक सहयोग

हुम्ला, १८ असार । अमेरिकामा अध्ययनरत दुई जना दिदी भाइले हुम्ला जिल्ला सिमकोट गाउँपालिका–४ को बालविकास आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोसाक ( ट्र्याकसुट) सहयोग गरेका छन्। उनीहरूले आमाको नाममा स्थापना भएको जयदेवी बालविकास प्रतिष्ठान काठमाडौँमार्फत विद्यार्थीलाई पोसाक सहयोग गरेका हुन्।

यसरी आफू अमेरिकामा अध्ययन गरिरहेर पनि पोसाक सहयोग गर्ने विद्यार्थीमा रोसन घिमिरे र रोसनी घिमिरे छन्। उनीहरू दुवै जना दिदी भाइ हुन्। अमेरिकामा अध्ययन गर्दै बचेको समय काम गर्दा पाएको पारिश्रमिकबाट बचाएको रुपैयाँबाट उनीहरूले पोसाकका लागि सहयोग गरेका हुन्।

प्रतिष्ठानकी अध्यक्ष जयदेवी शाही घिमिरे दिदी भाइकी आमा पनि हुन् भने उक्त विद्यालयकी प्रधानाध्यापक पनि हुन्। उक्त विद्यालयमा अध्ययनरत सबै ३७ जना विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरी पोसाक वितरण गरिएको हो। पोसाक पाउने विद्यार्थीमा २१ जना छात्र छन् भने १६ जना छात्रा छन्। यसमा १३ जना दलित विद्यार्थी छन्।

ती पोसाक सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष सुशीला रोकाया भाम, ४ नम्बर वडाको अध्यक्ष प्रताप लामा, पत्रकार महासंघका अध्यक्ष राजन रावतले वितरण गरेका थिए। कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारीले अमेरिकामा अध्ययन गरिरहेका विद्यार्थीबाट दुर्गमको विद्यालयका विद्यार्थीलाई सहयोग आउनु राम्रो कार्य भएको बताउँदै यसको सदुपयोग गर्न आग्रह गरे।

उपाध्यक्ष सुशीला रोकाया भामले अहिलेका स्वार्थी दुनियाँमा ठूलो मन भएर सहयोग प्राप्त भएको बताइन्। कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष शाहीले आफूले दुर्गमको विद्यालयमा गरेको दुःखलाई हेरेर छोराछोरीले पोसाक सहयोग गरेको बताइन्। उनीहरूले ६३ वटा पोसाक सेट पठाएकोमा बाँकी १६ सेट पोसाक अन्य जेहेन्दार तथा गरिब विद्यार्थीलाई वितरण गरिनेछ।