एसईई परीक्षाको नतिजा सार्वजनिक, उच्च श्रेणीमा उतीर्ण हुने विद्यार्थी यसवर्ष बढे

-रमेश गिरी

भक्तपुर, २१ साउन : राष्ट्रिय परीक्षा बोर्डले आज अपरान्ह माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले एसईई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलनको आयोजना गरि परीक्षामा सहभागि भएका चार लाख ८४ हजार ९३९ जना परीक्षार्थीको नतिजा सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यसवर्ष उच्च श्रेणीमा उतीर्ण हुने विद्यार्थी ४ दशमलव ६३ प्रतिशत रहेको बताउनु भयो । उच्च श्रेणी ३ दशमलव ६० देखि ४ जिपिए २२ हजार ४७५ अर्थात ४ दशमलव ६३ प्रतिशत परीक्षार्थीले ल्याएका उहाँले बताउनु भयो ।

त्यस्तै एसईईमा ५५ हजार ६९ विद्यार्थीले ३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए (११ दशमलव ३६ प्रतिशत), ७२ हजार ३६२ जनाले २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए (१४ दशमलव ९२ प्रतिशत), ल्याएका छन् । ८९ हजार ३३१ जनाले २ दशमलव ४० देखि २ दशमलव ८० जीपीए ल्याएका छन् ।

त्यस्तै एक लाख दुई हजार २९३ विद्यार्थीले २ देखि २ दशमलव ४० जीपीए (२१ दशमलव ९ प्रतिशत), ८८ हजार ४४७ जनाले १ दशमलव ६० देखि २ जीपीए (१८ दशमलव २४ प्रतिशत), ३८ हजार ७७० विद्यार्थीले १ दशमलव २० देखि १ दशमलव ६० जीपीए र दुई हजार २०० विद्यार्थीले ० दशमलव ८० देखि १ दशमलव २० जीपीए (शून्य दशमलव ४५ प्रतिशत) ल्याएको उहाँले जानकारी दिनुभयो ।

परीक्षामा १३ हजार ९९२ अर्थात २ दशमलव ८९ प्रतिशत परीक्षार्थी अनुपस्थित रहेको उहाँले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसवर्ष उच्च जिपिए ल्याउने विद्यार्थीको प्रतिशत बढेको बताउनु भयो । विगतमा कोभिडका कारणले अनलाइन माध्यमबाट पढाई हुदाँ र अहिले भौतिक उपस्थितिमै विद्यार्थीको पढाई हुँदा त्यसको प्रभावले पनि यसवर्षको नतिजा राम्रो आएको र उच्च जिपिए ल्याउनेको संख्या बढेको उहाँले बताउनुभयो ।

२०७२ सालको प्रणालीअनुसार सैद्धान्तिक र प्रयोगात्मकको जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी उत्तीर्ण हुने व्यवस्था अनुसारनै नतिजा सार्वजनिक गरिएको हो । नयाँ निर्देशिका २०७८ अनुसार सैद्धान्तिक विषयमा विद्यार्थीले अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । यो व्यवस्था आगामी वर्षदेखि लागू हुने भएको छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देश भरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित कक्षा १० को अन्तिम परीक्षामा चार लाख ८४ हजार ९ सय ३९ जना विद्यार्थीको सहभागिता रहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्र छन् । प्राविधिक धारतर्फका १५ हजार चार सय ६१ जना परीक्षार्थी समेत कक्षा १० को अन्तिम परीक्षामा सहभागी थिए ।

नतिजा यसरी हेर्नुहोस :

एसईईको नतिजा आउने भन्ने थाहा पाए लगत्तै विद्यार्थी तथा अभिभावकहरुलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् । तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने र आत्तिदै फोन गर्ने गर्छन् ।

राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गर्न लागेको एईई परीक्षाको नतिजा सहजै हेर्ने व्यबस्था गरेको । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नतिजा सहजै हेर्ने व्यबस्था गरेको जानकारी दिनु भयो । यसका लागि विद्यार्थीले वेबसाईड, एसएमएस र आईभिआरबाट हेर्न सकिने व्यबस्था गरेको जानकारी दिनु भयो ।

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरि प्राप्त निर्देशन अनुसार नतिजा जान्न सकिने व्यबस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उहाँले बताउनु भयो ।

एसएमएसका लागि ३१००३, ३४९४९, १६००, ३५००१ र ३३६२४ मा डायल गर्न सक्ने व्यबस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np  मा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khalti.com, www.neemaacademy.com, www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com  बाट नतिजा हेर्न सकिने व्यबस्था गरिएको छ ।