भक्तपुरका सबै विद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्ति दिने प्याब्सन र हिसानबीच सम्झौता

भक्तपुर, २२ असार । विद्यालयतहदेखि उच्च शिक्षासम्ममा उत्कृष्ठ शैक्षिक नतिजा हासिल गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने अभियानमा जुटेको निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) एवं हिसानले यसलाई मूर्त रुप दिन विद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्ति दिने घोषणा गरेका छन् ।

भक्तपुर जिल्लाका प्याव्सनमा आबद्ध विद्यालयहरुबाट एसईई उतीर्ण गरी जिल्ला भित्रकै हिसान आवद्ध स्कुल एवं कलेजहरुमा कक्षा ११ भर्ना हुने ५० प्रतिशत छात्रबृत्ति अनिवार्य रुपमा दिने र विद्यार्थीको ग्रेड सिट हेरेर अझै थप छात्रबृत्ति दिने घोषणा गरिएको हो ।

प्याब्सन भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठ र हिसान भक्तपुर जिल्ला अध्यक्ष अनिल कसपालबीच शुक्रबार छात्रबृत्ति योजना सार्वजनिक एवं पत्रकार सम्मेलनमा बिद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

चार बुदेँ सम्झौतामा प्याब्सन सदस्य विद्यालयका प्रिन्सिपलको सिफारिस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाको आधारमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई हिसान सदस्य विद्यालय एवं कलेजहरुले आवश्यक थप छुट सहुलियत प्रदान गर्ने भएको छ ।

त्यस्तै प्याब्सन र हिसान दुबै संस्थाले अध्ययनरत विद्यार्थीको व्यक्तित्व विकास, अध्यापन शिक्षकहरुको सीप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिबृद्धि हुने शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै जाने सम्झौता भएको छ । भक्तपुरका विद्यार्थीलाई भक्तपुरमा नै कक्षा ११ र १२ पढने वातावरण निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्त रुपमा कार्यक्रम गर्दै जाने सम्झौता भएको छ ।

सम्झौताकाबारेमा जानकारी दिदै हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले निजी विद्यालयले राज्यको निती, नियम र कानून बमोजिमनै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएपनि राज्यबाट भने सधै विभेदमा परेको बताउनुभयो । उहाँले ऋण लिएर लगानी जोखिममा राखेर निजी विद्यालयले राज्यको कुनै लगानी बिनानै गुणस्तरीय शिक्षा दिदाँ प्रोत्साहन गर्नुपर्नेमा बेलाबेलामा अबरोध गर्नुले राज्यको निजी विद्यालयप्रतिको दृष्टिकोणमा सुधार गर्नु पर्ने औल्याउनु भयो ।

उहाँले भन्नुभयो, “भक्तपुरका विद्यालयहरुले हरेकवर्ष एसईईसम्ममा उच्च अंक ल्याएर विद्यार्थीहरुलाई उतीर्ण गराईरहेका छन्, यहाँका विद्यालयहरु अब्बल छन्, उच्च शिक्षा अध्ययन गर्ने विद्यालय तथा कलेजहरु पनि यहाँका उत्कृष्ठ छन्, अब्बल छन्, त्यसैले प्याब्सन र हिानको सहकार्यमा भक्तपुरका विद्यालयबाट एसईई उतीर्ण विद्यार्थीलाई उच्च शिक्षासम्म भक्तपुरकै विद्यालय एवं कलेजमा अध्ययन गर्ने गराउने वातावरण गर्न सहकार्य सुरु गरेका हौ ।”

कार्यक्रममा प्याब्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले निजी र सरकारी विद्यालयका शिक्षाकाबारेमा कुनै विभेद नभएको भन्दै सरकारीमा राज्यको लगानी र निजीमा व्यक्तिको लगानीमा मात्रै भन्नता रहेपनि शिक्षा र परीक्षा सबैमा राज्यकै भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षामा विभेद छैन, पाठ्यक्रम राज्यले बनाउँछ, शुल्क राज्यलेनै तोक्छ, अहिले पनि स्थानीय सरकारले तोकेको मापदण्ड भित्रै रहेर शुल्क लिइएको छ, प्रश्न पत्र निर्माणदेखि परीक्षा राज्यलेनै सञ्चालन गर्छ, नतिजा राज्यलेनै प्रकाशित गर्छ, अनि शिक्षामा कसरी विभेद हुन्छ ?”

निजी विद्यालयले शिक्षामा आत्मनिर्भर बनाएको बताउदै निजी विद्यालय बन्द गराउने हो भने उच्च शिक्षा अध्ययनका लागि मात्रै होइन, विद्यालय शिक्षा अध्ययनका लागिसमेत नेपालबाट विद्यार्थी विदेशिन्छन् भन्नेतर्फ राज्यले सोच्नु पर्ने औल्याउनुभयो ।

कार्यक्रममा मध्यपुर नगर प्याब्सन अध्यक्ष निलेष आचार्यले भक्तपुरका अभिभावकले काठमाडौं, ललितपुरका विद्यालयलाई मात्रै उत्कुृष्ठ देखेको अबस्थामा भक्तपुरका विद्यालय कलेजले पनि आवश्यक संरचनामा सुधार गर्दै भक्तपुरमा पनि उत्कृष्ठ विद्यालयहरु छन् भन्ने सन्देश प्रचारात्मक रुपमा अभिभावकसम्म पुर्उउनु पर्ने औल्याउनुभयो ।

उहाँले विद्यार्थीले भक्तपुरबाट स्वतन्त्रता खोज्दै भक्तपुर बाहिरका विद्यालय कलेजमा जाने र अभिभावकले पनि भक्तपुरका बिद्यालयलाई उत्कृष्ठ नदेख्ने मानसिकता बदल्नु आजको आवश्यकता रहेकाले यहाँका विद्यालयका गुास्तरीय शिक्षाकाबारेमा अभिभावकसम्म सन्देश पुर्याउनु पर्ने बताउनुभयो ।

त्यसअवसरमा हिसानका कोषाध्यक्ष दिनेश पाण्डे, सूर्यविनायक नगर प्याब्सन अध्यक्ष दिनेश मैनालीलगायतले भक्तपुरका विद्यालय एवं कलेजका शैक्षिक गुणस्तर उपत्यकाका मंहगा र उत्कृष्ठ विद्यालय कलेज भन्दा कम नभएको चर्चा गर्नुभयो ।