जिल्लाव्यापी लोक नृत्य प्रतियागिताको उपाधी नवरत्नलाई

भक्तपुर, ३१ भदौ । चखुँ प्रकाश समूहको २० औ वार्षिकोत्सवको अवसरमा आयोजित भक्तपुर जिल्ला विद्यालय स्तरीय छैठौँ नृत्य प्रतियोगितामा नवरत्न इङ्लिस स्कूल ठिमीले प्रथम उपाधी हात पारेको छ ।
समूहले शनिवार आयोजना गरेको प्रतियोगितामा ‘चरि जेलैमा’ बोलको गीतमा गरेको नृत्यमा नवरत्न इङ्लिस स्कूलले प्रथम स्थान हासिल गर्दै शिल्ड हात पार्न सफल भएको हो ।
प्रतियोगतामा जनप्रेमी वल्र्ड स्कूलले दोश्रो, कौशल्टार इङ्लिस स्कूलले तेश्रो स्थान हासिल गर्न सफल भएका थिए । सुप्रिम एकेडेमी र मनोरम इङ्लिस स्कूलले भने सान्त्वना स्थान प्राप्त गर्दै शिल्ड हात पारेका थिए ।
प्रतियोगितामा ग्लोबल पाठशालाले उत्कृष्ठ भेषभुसा र उत्कृष्ठ नृत्य निर्देशकको उपाधी समिर शंखदेव प्रजापतिले हात पार्नु भएको थियो । चखुँ विशेष पुरस्कार भने ह्यापी निष्ट स्कुलले हात पारेको प्रतियोगिताका संयोजक राजु प्रजापतिले जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा सहभागि विद्यालयको नृत्यहरु सबै बेजोड रहेको बताउदै साहित्य, कला, संस्कृतिको संरक्षणमा चखुँ प्रकाशन लागिरहेको बताउनुभयो ।
प्रतियोगितामा पुरस्कृत हुने विद्यालयहरुलाई सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले शिल्ड, मायाको चिनो तथा पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले आफू जीवनमा कहिल्य फेल नभएको र हार्न नजानेको बताउनुभयो । नगर प्रमुख थापाले भन्नुभयो, “मैले जीवनमा हार्न जानेको छैन, म कहिल्य फेल नभएको मान्छे हुँ, अहिलेसम्म म १९ पटक चुनाब लडेँ १९ पटक नै मैले जिते, म हार्ने मान्छे होइन, मैले हार्न जानेको छैन ।”
उहाँले यस प्रकारको नृत्य प्रतियोगिताले नेपालको लोक, कला, संस्कृतिको जगेर्ना गर्ने र कला संस्कृतिलाई जिवन्त रुपमा जोगाएर राख्न मद्धत पुग्ने बताउनु भयो । नगरपालिकाले पनि केही दिन अगाडि लोक नृत्य प्रतियोगिताको आयोजना गरेको बताउदै विद्यार्थीहरुलाई हरेष नखाई अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष लक्षुराम न्यौपानेले लोक नृत्य नेपालीहरको लोक पहिचान भएको बताउदै यस्ता प्रतियोगिताले नयाँ पुस्तामा हाम्रो वर्षौ पुराना लोक संस्कृति हस्तान्तरण गर्न मद्धत पुग्ने बताउनु भयो ।
कार्यक्रममा चखुँ प्रकाशनका अध्यक्ष एवं सुदन खड्का, पूर्वअध्यक्ष रत्न सायमीले प्रतियोगितामा हार जित हुनु स्वभाविकै भएको बताउदै एकदमै उत्कृष्ठ नृत्यहरु प्रस्तुत हुँदा उत्कृष्ठ मध्येका पनि उत्कृष्ठ छान्नु पर्ने बताउनुभयो । अध्यक्ष खड्काले कार्यक्रममा सहभागि प्रमुख अतिथि, विशेष अतिथि, अतिथि र सहयोगीहरुलाई मायाको चिनो प्रदान गर्नुभयो ।
कार्यक्रममा नृत्य निर्देशक संघ ललितपुरका सचिव तथा वरिष्ठ नृत्य निदेशक मिनर्वा शर्मा राजोपाध्याय, राष्ट्रिय संगीतकर्मी संघ वागमती प्रदेश सचिव, नृत्य निर्देशक संघ काभ्रेका अध्यक्ष तथा वरिष्ठ कलाकार, नृत्य निर्देशक अमरकृष्ण चन्द, मोडल तथा नृत्य निर्देशक शान्ता कार्कीले निर्णयकको भूमिका निर्भाह गर्नु भएको थियो ।
त्यसअवसरमा घरपरिवार संस्थाका संस्थापक अध्यक्ष रत्न सायमी, जनता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेशकुमार राजथला, घरपरिवार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण विष्ट, छहारी बचत तथा ऋण सहकारी संस्थाका सचिव रामशरण प्रजापती, प्राज्ञिक समाज दधिकोटका अध्यक्ष राजन विष्टलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कार्यसमिति सदस्य कामेश्वर प्रसाद चौधरीले गर्नु भएको थियो । विद्यार्थीमा निहित प्रतिभा प्रष्फुटनमा सहयोग पुगोस् र विद्यार्थीहरुमा साँस्कृति ज्ञान वृद्धि हुनाको साथै कला संस्कृतिको संरक्षण सम्द्र्धनमा टेवा पुराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव तथा कार्यक्रम संयोजक राजु प्रजापतिले जानकारी दिनुभयो ।