महानगरपालिकाद्वारा नया“ विद्यालय स्वीकृतिमा रोक
काठमाण्डौं । काठमाडौँ महानगरपालिका नयाँ विद्यालय स्थापना गर्न स्वीकृत नदिने भएको छ । महानगरपालिकाले तत्कालका लागि नयाँ विद्यालय स्थापना गर्न स्वीकृत नदिने निर्णय गरेको काठमाडौँ महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिनुभयो । हाल संचालनमा रहेका विद्यालयको हकमा भने आवश्यकताको आधारमा तह थप गर्न भने पाइने उहाँले बताउनुभयो । नेपालको संविधान २०७२ ले स्थानीय निकाय स्वयंले शिक्षा ऐन निर्माण गरेर कार्यान्वयन गर्ने अधिकार दिएसँगै महानगरपालिका, नगरपालिका र गाउँपालिकाले शिक्षा ऐन निर्माण र कार्यान्वयन गरिरहेका छन् । शैक्षिक संस्था खोल्नका लागि अनुमति तथा सञ्चालनको स्वीकृति दिने अधिकार स्थानीय निकायसँग रहेको र हाल महानगरपालिकामा थप नयाँ विद्यालयको आवश्यकता नरहेकाले स्वीकृत बन्द गरिएको बताईएको छ । सामुदायिक विद्यालय मात्रै होईन अब निजी विद्यालयलाई पनि गाभ्नु पर्ने आवाज उठिरहेको बेलामा महानगरले तत्कालका लागि नयाँ विद्यालय स्थापना गर्न नदिने निर्णय गरेको हो । यो निर्णयले झोलामा विद्यालय राखेर नामकै किनबेच गर्नेहरुलाई पनि रोक्नु पर्ने सरोकारवालाहरुले आवाज उठाउन थालेका छन् । निजी विद्यालय सञ्चालनका लागि नाम दर्ता गरेर बस्ने र शिक्षाको नाममा व्यापार गर्नेले त्यही ‘लाइसेन्स’को किनबेच गर्ने सम्भावना भएकाले त्यस्तो कार्यलाई रोक्नु पर्ने आवाज उठ्न थालेको छ । महानगरमा भएका सामुदायिक विद्यालयलाई भौतिक तथा शैक्षिक गुणस्तरमा वृद्धि गर्न आवश्यक भएको बताईएको छ । महानगरले प्रविधिक तथा सीपमूलक अभ्यास गराउनका लागि विद्यालय सञ्चालनको अनुमति माग्न आउनेलाई भने शिक्षा समितिले अध्ययन गरी ऐनअनुसार स्वीकृति दिन सकिने महानगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख तारापति खरेलले जानकारी दिनुभयो । महानगरपालिका शिक्षा ऐनको मापदण्डमा रहेर स्वदेशी लगानीमा सीपमूलक तथा प्रविधिक शिक्षा अपनाउने र प्राविधिक विद्यालय सञ्चालन गर्नेलाई स्वीकृत दिने उहाँले बताउनुभयो । पुरानै शैलीमा अध्यापन गराउने उद्देश्यले विद्यालय सञ्चालनका लागि अनुमति माग्न आउनेलाई चाहिँ महानगरले नयाँ स्वीकृति नदिने भएको हो ।
कक्षा ५ सम्मको अध्यापन गराउने अनुमति लिएकाहरुले तह थप गर्न वडा कार्यालयको सिफारिसमा महानगर शिक्षा समितिमा आइपुगेका मागलाई आवश्यकता अनुसार अध्ययन गरेर विशेष निर्णय गर्न सकिनेछ । महानगरमा सञ्चालित विद्यालय जस्तै कक्षा एक सञ्चालनका लागि अनुमति लिएका छन् भने ती विद्यालयलाई कक्षा ८ सम्म र कक्षा १० सम्म सञ्चालन भएको विद्यालयलाई आवश्यक भएको खण्डमा कक्षा १२ को अनुमति महानगर शिक्षा समितिले अध्ययन गरेर अनुमति दिन सक्ने शिक्षा ऐनमा उल्लेख गरिएको छ ।
प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापाले भने तत्काल विद्यालय स्थापना गर्नका लागि स्वीकृति नदिने महानगरको निर्णय सही भए पनि पहिले नै नाम दर्ता गरेर झोलामा ‘ लाइसेन्स’ बोकेर हिड्ने विद्यालयलाई पनि सञ्चालनमा रोक लगाउन सक्नु पर्ने बताउनुहुन्छ । झोलामा विद्यालय बोक्नेको स्वीकृति खारेज गर्नसक्नु पर्ने उहाँको धारणा थियो । अन्यथा झोले स्कुलले आफ्नो लाईसन्स होल्ड गर्नेहरुले आर्थिक चलखेल गर्न सक्ने खतराप्रति सजग रहनुपर्ने उहाँको भनाई छ । महानगरले नयाँ विद्यालयलाई स्वीकृत गर्न निरुत्साहित गरेर ज्ञानमूलक तथा सीपमूलक शिक्षा प्रधान गर्ने उद्देश्यले काम अगाडि बढ्न खोज्नु उदाहरणीय काम हुने शिक्षाविद् विद्यानाथ कोइराला बताउँनुहुन्छ । काठमाडौँ महानगरपालिकामा सामुदायिक विद्यालय ९१ वटा छन् भने निजी विद्यालयको संख्या ६४४ वटा छ । सामुदायिक विद्यालय ९१ मध्ये ३ विद्यालय कारागारभित्र सञ्चालन गरिएको छ ।





