कक्षा १२ को प्रश्नपत्र ‘आउट’ प्रकरण–काठमाडौं वर्ल्ड स्कूलको परीक्षा केन्द्रमा पुग्यो अनुसन्धान टोली

भक्तपुर, २१ बैशाख : काठमाडौं वर्ल्ड स्कुलको परीक्षा केन्द्र चानक्य कलेजमा पुगेर जिल्ला प्रशासन कार्यालय र एनइबीले छानविन सुरु गरेको हो । परीक्षा सुरु हुनु अघि नै विद्यार्थीकाे हातमा प्रश्नपत्र पुगेकाे सूचना पाएपछि सीडीओ गोपालप्रसाद अर्यालसहितको टोलीले अनुगमन गरेको थियो ।
अनुगमन टोलीले प्रहरी र एनइबीकाे आइटी टाेलीलाई राखेर छानविन समिति बनाएकाे छ । उक्त समितिले अनुसन्धान गरिरहेको सीडीओ अर्यालले नेपाल प्रेसलाई बताए ।भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्डले छानविन सुरु गरेको छ ।
उनले भने,‘परीक्षा सुरु हुनु अगावै कक्षा १२ को प्रश्न पत्र आउट भएको सूचना आएपछि हामी अनुगमनमा गएका थियौं । प्रहरी र एनईबीको आइटीको अनुसन्धान टोलीले छानविन गरिरहेको छ । ’ उनका अनुसार उक्त कलेजको परीक्षार्थीकाे मोवाइल जफत गरेर अनुसन्धान गरिरहेको छ । परीक्षा सकिएपनि काठमाडौं वर्ल्ड स्कुलका परीक्षार्थीलाई भने बाहिर निस्कन दिइएकाे छैन । उनीहरुकाे माेवाइल चेक भइरहेकाे छ ।
अघिल्लो वर्ष पनि काठमाडौं वर्ल्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र लिक भएको तर परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले हावा कुरा भनेर पन्छिएको भक्तपुरका रासस संवाददाता रमेश गिरीले बताए । तर यसपटक भने जिल्ला प्रशासन कार्यालयले नै अग्रसरता लिएर प्राविधिक टोलीसहित अनुसन्धान थालेको हो ।