२१ औं सैनिक आवासीय महाविद्यालय, अन्तर स्कुल रनिङ्ग फुटबल प्रतियोगिता–२०८२ को विजेता नेपाल पुलिस स्कूल
95
भक्तपुर, ११ मङ्सिर : २१ औं सैनिक आवासीय महाविद्यालय, अन्तर स्कुल रनिङ्ग फुटबल प्रतियोगिता–२०८२ को नेपाल पुलिस स्कूल विजेता भएको छ । भक्तपुरको सल्लाघारीस्थित श्री सैनिक आवासीय महाविद्यालयले आयोजना गरेको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा महाविद्यालयको टिम ’रेड’लाई शून्यका बिरुद्ध दुई गोल गर्दै नेपाल पुलिस स्कूलको टिम बिजेता बनेको हो ।

यही मङ्सिर २ गते महाविद्यालयका प्राचार्य दलप्रसाद पुन र प्रमुख व्यवस्थापक अधिकृत महासेनानी शिवप्रसाद पौडेलले संयुक्त रुपमा उद्घाटन गरि सरु भएको प्रतियोगितामा आयोजक सैनिक आवासीय महाविद्यालयले यसवर्ष उपविजेतामै चित्त बुझाउनु परेको छ ।

प्रतियोगितामा महाविद्यालयको दुई टिम सहित उपत्यका भित्रका बिभिन्न सैनिक तथा प्रहरी विद्यालयहरुको १० टिम गरी कूल १२ वटा टिमको प्रतियोगितामा प्रतिस्पर्धात्मक खेल भएको थियो । लिग तथा नकआउट चरणमा खेलाईएको प्रतियोगितामा कूल १९ वटा खेलहरु सञ्चालन भएको महाविद्यालयका प्रमुख व्यवस्थापक अधिकृत महासेनानी शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

आज समापन प्रतियोगितामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रतियोगिताका विजेता टिम नेपाल पुलिस स्कूललाई नगद पुरस्कार रु. ५० हजार, रनिङ्गशिल्ड, ट्रफी, प्रमाणपत्र र उपविजेता सैनिक आवासीय महाविद्यालय ’रेड’ टिमलाई नगद पुरस्कार रु.३० हजार, रनरअप ट्रफी तथा प्रमाण पत्रहरु प्रदान गर्नुभयो ।

कार्यक्रममा सैनिक कल्याणकारी निर्देशनालयका सह–निर्देशक म.से.उत्तम सापकोटा, नेपाली सैनिक प्रतिष्ठानका म.से.श्री सुरज बैदवार, उपत्यका भित्र तैनाथ सैनिक महाविद्यालय एवं खेलमा सहभागी विद्यालयहरुका प्राचार्य तथा व्यवस्थापक अधिकृतहरुले प्रतियोगिताका उत्कृष्ट खेलाडीहरु, टिम, कोच तथा रेफ्रिहरुलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नु भएको थियोे ।






