शिक्षासेवी डा. कोजूको कविता संग्रह ‘आगोका अक्षरहरू’ सार्वजनिक

भक्तपुर, ६ फागुन : कवि, राजनीतिक विश्लेषक तथा शिक्षासेवी डा. राजेन्द्र कोजूको कविता संग्रह ‘आगोका अक्षरहरू’ आज सार्वजनिक गरिएको छ ।
अनुशीलन नेपाल र भक्तपुर रोम्बस सेकेन्डरी स्कुलको संयुक्त आयोजना गरेको कविता संग्रहको विमोचन तथा परिचर्चा कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोजू, कवयित्री अम्बिका धिताल र सम्पादक जीवनाथ अधिकारीले संयुक्त रूपमा कविता संग्रहको विमोचन गर्नु भएको हो ।
कार्यक्रममा साहित्यकार लाकोजूले डा. कोजूका कविताहरू विचारप्रधान, चेतनामूलक र समाजसँग प्रत्यक्ष संवाद गर्ने प्रकृतिका रहेको चर्चा गर्दैे सृजनाका लागि साधना र अध्ययन अपरिहार्य रहेको बताउनुभयो ।
वर्तमान समयमा कृत्रिम बुद्धिमत्ता (एआई) ले समेत कविता लेख्ने सन्दर्भ उठाउदै उहाँले एआईमार्फत सिर्जना हुने कविताले सर्जकको मौलिकता र व्यक्तित्वलाई चुनौती दिन सक्ने भएपनि सच्चा सृजनाले मानवीय संवेदना, अनुभव र साधनाको महत्व झनै बढेको बताउनुभयो । उहाँले कविता व्यक्तिको रहर मात्र होइन, यो समाजप्रतिको उत्तरदायित्व र प्रतिबिम्ब पनि हो भन्दै कविताले समाजको चित्रण गर्ने बताउनुभयो ।
कवियत्री अम्बिका धितालले कविताले समाजका पीडा, विद्रोह र चेतनालाई अभिव्यक्त गर्ने बताउदै डा. कोजूका कवितामा अन्याय, अत्याचार, शोषण र दमनविरुद्ध सशक्त स्वर रहेकाले यस्ता सिर्जनाले समाजमा चेतना र परिवर्तनको आधार निर्माण गर्ने बताउनुभयो ।
कृतिकार डा. कोजुले प्रकाशित कविता संग्रहबारे चर्चा गर्दै ‘आगोका अक्षरहरू’ मा व्यक्ति, समाज, राजनीति, नैतिक मूल्य, मानवीय संवेदना र चेतनाका विविध पक्षलाई समेटेका कुल १११ वटा कविता तथा १६ वटा चार हरफे मुक्तक शैलीका कविता समावेश गरिएको बताउनुभयो ।
सञ्चारकर्मी हरिसुन्दर छुकांले डा. कोजूको जीवनी, कवित्व र कृतित्वमाथि चर्चा गर्दै उहाँले साहित्यिक यात्रालाई साधना, अध्ययन र समाजप्रतिको उत्तरदायित्वसँग जोडेर शिक्षण पेशासँगै साहित्य सिर्जनालाई जीवनको अभिन्न अंगका रुपमा अगाडि बढाएको बताउनुभयो ।
कार्यक्रममा स्वयं स्रष्टा डा. कोजूले पनि आफ्नो नयाँ कृतिबाट चयन गरेका कविताहरू वाचन गरेका थिए । डा. कोजूका यसअघि प्रकाशित कृतिहरूमा ‘घोडा उसको वा ऊ घोडाको ?, विशेषणमा बाँचेको देश, हृदयका प्रतिबिम्ब (संयुक्त कविता संग्रह), चित्र र चरित्र, इमानको धरहरा (कविता संग्रह) तथा निर्भीक आवाजहरू (लेख संग्रह)’ रहेका छन् । कवि डिल्लीप्रसाद मूलतिहुन र लेखक डा. कोजले विमोचित संग्रहका विशेष कविताहरु वचन गर्नु भएको थियो ।