लघुकथा : त्यो हिंजो र जालसाजी
0
-जी बी खड्का
अन्योल को अवस्था छ। निर्वाचन प्रकृयाबाट आफ्नो नेता छान्न उपस्थित सवैबिच,अव के होला भनि एकआपसमा खासखुस छ । नहोस् पनि किन? आखिर असल पात्रहरुको सृजना गरेर संगठनलाई सवल रुपमा गति दिनका लागि भएको भेला हो यो ।केहि क्षणको पर्खाइ पछि सबैको ध्यान भड्काउने खालको वातावरण सृजना हुन्छ । अध्यक्षका दुई प्रत्याशी राम र स्यामको हात आफ्ना दुई हातले समाउँदै कृष्ण एक उद्घोष गर्छन;
“संगठनको वृद्धि र विकासका लागि हामीले एउटा निर्णय गरेका छौं । दुवैजना अध्यक्षका प्रत्याशी ३ बर्षको कार्यकाललाई १८/१८ महिना अध्यक्षको भूमिकामा रहन सहमत हुनुभएको छ।” “तालीले यो निर्णयलाई स्वागत गरौं। “
सबजना अलमल पर्छन। नसोचेको कुरा आयो। फेरि यो प्रस्ताव थिएन, यो त एकपक्षीय निर्णय थियो । कोही खुशीको तालि बजाईरहेका थिए त कोही दुःखी देखिन्थे । विरोध पनि भयो। आवाज पनि उठाइए। एकक्षण अवस्था तनावग्रस्त भयो । तर, तर सुन्ने कसले ? भिडबाट गाईगुंई आवाज आइरहेको थियो : यो गलत भयो। प्रजातान्त्रिक पद्धति हनन् भयो ! यसले संगठनलाई अल्मल्याउनेछ । गतिहिन बनाउने छ ।
तर पर्दा पछाडिका केहि व्यक्तिको अगाडि त्यो १०००+ मतदाताहरु भिडमा परिणत भए। केवल भिड! सुनुवाइ भएन । त्यही निर्णय भयो। कोही मतदाता खासखुस गर्दै थिए : हाम्रो अधिकार हनन गरी संगठनलाई बन्धक बनाउने काम भयो । यो संगठनको हितमा छैन भनेर भोलिले पक्कै देखाउनेछ । हुन पनि एकपक्षीय निर्णय सुनाईएको थियो अझ भनौं लदाईएको थियो। त्यो भिड कोही खुशी भएर त कोही भारी मनका साथ आफ्ना गन्तव्य तर्फ फर्कियो।
खासै उल्लेख्य गतिविधि संगठनमा हुन छाडे। विवादमा नै संगठन रुमल्लिंदै सुस्त अगाडि बढिरहयो । बैठक हुन्थे तर विवाद ! निर्णय हुन्थे तर कार्यान्वयन कम ।
१८ महिना सकियो तर हस्तान्तरण भएन! बिभिन्न प्रपन्च रचिए, जालसाजी भए र पहिलो १८ महिने समितिले आफूहरु ३ बर्षको लागि नै भएको दावी गर्दै झेली खेल खेल्दै आफ्ना पक्ष सही र ३ बर्षकै लागि भएको भनि बनावटी कागजातहरु पेश गर्न थाले।
दोस्रो पक्ष पनि अवको १८ महिना आफूले पाउनु पर्ने भनि पाउनका लागि गतिविधिहरु गर्न थाले। पर्दा पछाडिका विगतका खेलाडीहरुसंग विनय गर्न थाले । तर ब्यर्थ भयो । संगठनमा ठूलो हलचल भयो। विगतका मतदाताहरु बाँडीन थाले। सही र गलतको खेल भएन, बरु फगत प्रभावका नाममा सत्यलाई तिलाञ्जली दिंदै असत्यलाई स्थापित गरी सत्यको घाँटी निमोठ्न लालायित देखिए र संस्था विभाजन भयो/गरियो ।
यसको विजारोपण त कृष्णले हिंजो नै गरि सकेका थिए, राम र स्यामको हात समातेर तितो उद्घोष गरेर । र ति पर्दा पछाडिका पात्रहरुले मुतको न्यानो निर्णय गरेर ।
आज, संगठन क्षतविक्षत भएको छ । संगठनको नाममा मुद्दा मामिला भएका छन्। दुवै पक्ष बिच बैमनस्यताले गाँजेको छ। यसको फाइदा लिंदै समकक्षी संगठनहरु खुशीले गद्गद् भई रहेका छन्। तर राम र स्यामलाई जुधाउन कृष्णहरु अझै लागिरहेका छन्। उनीहरुलाई संगठन कमजोर बन्दै गएको थाहै छैन वा निदाए जस्तो गरिरहेका छन्।
आफैंले सृजना गरेका संगठन शायद आफैं बिनास गर्दैछन् । दोस्रो पक्ष संगठनको साख जोगाउन मरिहत्ते गर्दैछ। कानुनी रुपमा संगठनलाई स्थापित गरेर समकक्षीका अगाडि पुर्णरुपमा स्थापित गरेर हिंजोको भन्दा बलियो र गर्विलो बनाउनु पर्छ भनी हरी लगायतकाहरु कम्मर कसिरहेको वर्तमान परिवेशमा पहिलो पक्ष भने सम्पुर्ण प्रयासलाई जालसाजी गरेको भनेर संयुक्त संगठनमाथी नै प्रस्नचिन्ह खडागरिरहेकाछन् भने संगठनका कर्मठ योद्दाहरु सवलता, सक्षमता र सांगठनिक मुल्य र मान्यताका साथ संगठन मजवुत बनाई छाड्ने धारणा बोकेर अगाडि बढिरहेकाछन्।
कुनै प्रयास विना जित कस्को होला भनि हेर्ने तेस्रो पक्षलाई कसैले बुझ्न सकेको छैन ।





