अरनिको माविमा छात्रवृत्ति कोष स्थापना, १८ विद्यार्थीलाई २ लाख बराबरको नगद तथा शैक्षिक सामग्री सहयोग
3
भक्तपुर, ७ असोज । अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ३ देखि ११ सम्मका १८ जना विद्यार्थीलाई समाजसेवी केशव कार्की र अप्सरा कार्कीज्यूले आर्थिक तथा शैक्षिक सामग्री सहयोग गरेका छन् ।
बुधबार सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका-४, दधिकोट निवासी कार्की दम्पतीले विद्यार्थीलाई रु. २ हजारदेखि रु. २० हजारसम्म नगद सहयोग गरेका थिए। कार्यक्रममा करिब रु. २ लाख बराबरको नगद सहयोगसँगै विद्यार्थीलाई ट्र्याकसुट सेट तथा विभिन्न स्टेशनरी सामग्रीसमेत उपलब्ध गराइएको विद्यालयले जनाएको छ।
कार्की परिवारले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी सामाजिक सेवाको सुरुवातस्वरूप उक्त सहयोग उपलब्ध गराएको हो। कार्यक्रममा केशव कार्कीका छोरा सञ्जीव कार्की र बुहारी निशा खड्काको समेत उपस्थिति रहेको थियो।यसै अवसरमा कक्षा १२ सम्म अध्ययनरत सम्पूर्ण छात्रछात्रालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले केशव कार्की संरक्षक रहने गरी दधिकोट खानेपानी समिति तथा छाहारी सहकारीका अध्यक्ष कृष्णहरि खड्काको अध्यक्षतामा पाँच सदस्यीय कार्यसमिति गठन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक महेन्द्र श्रेष्ठज्यूले आर्थिक तथा शैक्षिक रूपमा सहयोग आवश्यक पर्ने विद्यार्थीलाई लक्षित गरी स्थापना गरिएको छात्रवृत्ति कोषले विद्यार्थीको अध्ययनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सहयोगका लागि कार्की परिवारप्रति आभार प्रकट गरेका छन् ।





