‘नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक दुई दिवसीय गोष्ठी हेटौडामा सुरु

बागमती, १२ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वविद्यालयबाट उत्पादित जनशक्ति रोजगार मात्र नभई समाजलाई योगदान गर्न सक्ने किसिमको हुनुपर्ने बताउनु भएको छ ।
बागमती विश्वविद्यालयद्वारा हेटौँडामा बिहिबार आयोजित ‘नेपालको उच्च शिक्षा प्रणाली सुदृढीकरणः प्रादेशिक विश्वविद्यालय व्यवस्थापन र समन्वय’ विषयक दुई दिवसीय गोष्ठीको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
मुख्यमन्त्री थापाले भन्नुभयो, “हाम्रा शैक्षिक संस्थाहरू समाजको आवश्यकतासँग जोडिनु पर्छ, बजारको वर्तमानको मागसँगै भविष्यमा आवश्यक पर्ने जनशक्तिको अनुमान पनि गर्नुपर्ने हुन्छ । वर्तमान विश्व ज्ञान र नवप्रवर्तनमा आधारित भएकाले समयको मागलाई आत्मसात् गर्नु आजको आवश्यकता हो ।”
बागमती विश्वविद्यालयले समयसापेक्ष आवश्यकतालाई दृष्टिगत गरी पाठ्यक्रम तयार गरी अध्ययनअध्यापन गराइरहेको उहाँले बताउनुभयो । नेपालको शिक्षा प्रणालीमा गुणस्तर निर्धारण, नियन्त्रण तथा प्रवद्र्धन गर्ने स्वायत्त निकायको निर्माण हुन नसकेको भन्दै उहाँले शिक्षाको विकासमा तीन तहकै सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने पनि बताउनुभयो ।
 शुक्रबारसम्म चल्ने कार्यशालामा प्रदेशगत प्रस्तुति, विषय क्षेत्रगत समूह छलफल र प्रस्तुतिसँगै प्रदेश विश्वविद्यालय फोरम गठनलगायतका कार्यक्रम रहेको आयोजकले जनाएको छ ।