अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर पढाउने

सुर्खेत, १० भदौ : जुम्लाामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै शैक्षिक शत्रदेखि स्नातकोत्तर तहको अध्यापन सुरू हुने भएको छ। यो वर्षदेखि एमडिजिपी, एनेस्थेसियोलोजी, पिडियट्रिक अध्यापन गर्ने अनुमति प्रतिष्ठानले पाएको हो। साउन ३० गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञानमा स्नातकोत्तर तहको अध्यापन अनुमति दिने निर्णय गरेको थियो।
निर्णयअनुसार मंगलबारदेखि अनुमति प्राप्त भएको प्रतिष्ठान अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिए। डा. रावलका अनुसार यो वर्षका लागि पाँच वटा कोटा निर्धारण गरिएको छ। एमडिजिपीमा ३, एनेस्थेसियोलोजीतर्फ र पिडियट्रिकतर्फ १/१ वटा कोटा निर्धारण भएको उनले बताए।
यसअघि प्रतिष्ठानमा स्नातक तहका केही विषयमा अध्यापन भइरहेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापनको लागि स्वीकृति लिन कर्णाली प्रदेश सरकार प्रतिष्ठानको टोली लामो समयदेखि प्रयासमा थियो। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले प्रतिष्ठानले स्नातकोत्तर तहको अध्यापन अनुमति पाउनु ऐतिहासिक उपलब्धी भएको बताएका छन्।
उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘सेतो हिउँमा सेतै एप्रोन लगाएका विशेषज्ञ चिकित्सक उत्पादन गर्ने सपनाले एक हदसम्म सार्थकता हासिल गरेको छ।’ मन्त्री भण्डारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनामा मुख्य भूमिका खेलेका व्यक्ति हुन्। संविधान सभा सदस्य हुँदा उनले जुम्लामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि आफ्नो तर्फबाट विधेयक दर्ता गराएका थिए।
२०६८ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन बनेर जुम्लामा प्रतिष्ठान स्थापना भएको थियो। प्रतिष्ठानका अस्पताल निर्देशक डा. रावलले अर्को वर्षदेखि कम्तिमा ८ वटा विषयमा अध्यापन सुरू गर्नेगरी आफूहरू लागेको बताए। ‘यो त सुरूआत हो, अब अर्को वर्षदेखि कम्तिमा ७/८ वटा विषयमा हामी अध्यापन सुरू गर्नेछौं।’