विद्यार्थीसँग शुल्क उठाउने निर्णयबाट पछि हट्यो केयु
काठमाडौं, १० भदौ : शुल्क उठाउने निर्णयबाट काठमाडौं विश्वविद्यालय-केयु पछि हटेको छ। केयुले बुधबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेलसम्मलाई अनलाईन शुल्क र बाँकी रहेको शुल्क उठाउने निर्णयलाई स्थगित गरेको जानकारी गराएको हो।
‘काठमाडौं विश्वविद्यालयको प्रशासनिक सेवा,समेत पूर्ण रुपमा सञ्चालन नआएको अवस्था र सम्बन्धित स्कूल अन्तर्गतका विभागीय प्रमुखहरुको सुझाव तथा विद्यार्थीसँग भएको छलफल र अनुरोधलाई समेत ध्यानमा राखी यस विश्वविद्यालय, स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङको विद्यार्थीको रजिष्ट्रेसन र आफुले तिर्न बाँकी रहेको शुल्क अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।
केयुले साउन ३२ गते अनलाईन कक्षा शुल्क र तिर्न बाँकी रहेको शुल्क भदौ १५ सम्ममा अनिवार्य बुझाउन विद्यार्थीलाई निर्देशन दिएको थियो। त्यसपछि विद्यार्थी नेताहरुले यो संकटमा शुल्क बुझाउन नसक्ने भन्दै आन्दोलन थालेका थिए।





