कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै, अनलाइनबाट परीक्षा लिने सुझाब

५ वर्ष अगाडि शैक्षिक समाचार admin

काठमाडौं, २० भदौ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ।

शिक्षा पत्रकार समाज (सेज) ले आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका साथ आफूहरुले अध्ययन गरिरहेको जनाए। उनले कक्षा १२ को परीक्षालाई यसअघि असोजको पहिलो साताबाट सञ्चालन गर्ने तयारी गरिएकामा कोरोना भाइरसको जोखिम बढेकाले मिति पछि सर्न सक्ने र यसबारे बोर्डले मात्रै निर्णय गर्न नसक्ने स्पष्ट गरे।

उनले बोर्डले दिने सुझाव अध्ययन गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड–१९ रोकथाम तथा नियन्त्रण केन्द्र (सिसिएमसी) ले परीक्षा सञ्चालनका विधि र मितिबारे बाधा अड्काउफुकाउसहित निर्णय गर्ने बताए। बोर्डले कोभिड–१९ को जोखिम बढिरहेको र कक्षा १२ को परीक्षाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्ने भएकाले कक्षा १० र ११ का जस्तो आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणीकरण नगरी राष्ट्रियस्तरको परीक्षा गर्न सुझाव तयार गरेको छ।
अनलाइनबाट कक्षा १२ परीक्षा सञ्चालन गर्न वा कोरोना जोखिम नभएका ठाउँमा परीक्षा सञ्चालन गरेर अन्य जिल्लामा फरक फरक मितिमा परीक्षा लिन सकिने प्रतिवेदनमा उल्लेख छ। चरणबद्ध परीक्षा भएमा पनि परीक्षाफल एकै समयमा हुने अध्यक्ष पौडेलले जानकारी दिए। गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा बन्दाबन्दीका कारण स्थगन भएको थियो।