सधैँका लागि अस्ताए, शिक्षा क्षेत्रका एक नक्षत्र

-रमेश गिरी

भक्तपुर, २५ जेठ । ‘कोरोनाको छालमा डुबेर मर्ने कि पौडिने हिम्मत गर्ने ?’ कोरोनाको महामारीका कारण भएको पहिलो लकडाउनमा यही शिर्षकमा एउटा लेख लेखेर देशभरका शिक्षाकर्मीलाई कोरोना भाइरसलाई परास्त गर्दै शैक्षिक गतिविधीलाई अगाडि बढाउन हौसला प्रदान गर्ने एक शिक्षाकर्मीले आज सधैका लागि आफ्नो कलमलाई बिट मारेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का वर्तमान् केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका अध्यक्ष, प्याब्सनका पूर्वकेन्द्रीय उपाध्यक्ष, प्याब्सन भक्तपुरका पूर्वअध्यक्ष एवं सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस बोडिङ् स्कुलका संस्थापक प्रिन्सिपल ५२ वर्षीय राजकुमार महर्जनको आज निधन भएको छ ।

कोभिड–१९ को दोश्रो भेरियन्टको सङ्क्रमणका कारण गत बैशाख १२ गते उपचारका लागि बिएण्डबी अस्पताल ग्वार्कोमा भर्ना हुनुभएका उहाँको उपचारकै क्रममा आज ३ बजे निधन भएको हो । कोरोना सङ्क्रमण भए पनि उपचारको क्रममा कोरोना निको भएको उहाँका दाजू श्याम महर्जनले जानकारी दिनुभयो । ‘कोरोना निको भइसकेको थियो, कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनाले फोक्सोमा पुर्याएको क्षति र मधुमेहका कारण भाइलाई बचाउने हरप्रयास असफल भयो ।’, उहाँले भन्नुभयो । स्वर्गीय महर्जनको पत्नी र एक छोरा रहेका छन् । उहाँको आज नै परिवारले पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेका छन् ।

२०२६ साल कात्तिक २ गते ललितपुरको चाँगाथलीमा जन्मनु भएका महर्जनले शिक्षाको विकासका लागि दुई दशक योगदान दिनु भएको छ । पत्रकारितामा समेत चासो राख्ने उहाँले लेखेका शिक्षासंग सम्बन्धित धेरै प्रेरणादायक लेखहरु बिभिन्न सञ्चार माध्यममा प्रकाशित छन् । बिभिन्न ठाउँमा शिक्षाको विकास र शिक्षासंग सम्बन्धित बिभिन्न विषयमा प्रशिक्षण दिदै आउनु भएका महर्जनले यूट्युव च्यानलमार्फत विद्यार्थी, अभिभावक र शिक्षाकर्मीका लागि दिने प्रेरणादायी अभिव्यक्तिहरुबाट उहाँ चर्चामा आउनु भएको थियो ।

उहाँको पत्नी मिना महर्जनसंग केही दिन अगाडिमात्रै भएका कुराकानीमा कोरोना नेगेटिभ आए पनि फोक्सो बिग्रिएको तर उहाँ निको भएर फर्कनेमा सबै विश्वस्त रहेको बताउनु भएको थियो । खाना खाने, अक्सिजनको लेबल ठिक ठाउँमा आएको र उहाँ पहिला जस्तै उत्साहमा फर्कदै आउनु भएको, अस्पतालको शय्यामा पनि आफ्ना विद्यार्थीप्रति चासो दिइरहनु भएको जानकारी गराउनु भएको थियो ।

केही दिन अघि मात्रै अस्पतालकै शय्याबाट यूट्युब च्यानलमा उहाँको आफ्नै ‘चकचके बालकको कथा’ पोष्ट गर्दै ‘अस्पतालमै छु आज मुड राम्रो छ,’ भन्दै उहाँले कक्षा कक्षा ७ देखि १० सम्मका विद्यार्थीका आफ्नै कथा भनेर पोष्ट गर्दा अब पक्कै उहाँ स्वथ्य भएर फर्कनु हुन्छ भन्ने सबैमा आशा पलाएको थियो ।

विद्यालयका अध्यक्ष एवं श्याम महर्जन दाईका अनुसार दिउँसो १२ बजे साविककै खाना खाएर अरु दिन झै निको भएर घर फर्कने आशामा रहनु भएका उहाँको एकाएक अक्सिजन लेबल घटेर तीन बजे सदाका लागि अस्ताएको चिकित्सकले जानकारी गराए पछि शैक्षिक क्षेत्रका एउटा होनाहार नक्षत्रलाई समग्र शिक्षाकर्मीहरुले गुमाउनु परेको छ ।

भक्तपुरलाई उत्कृष्ठ शैक्षिक गन्तव्य बनाउने, शैक्षिक तथा सामाजिक अभियन्ता राजकुमार महर्जनको निधनले समग्र शिक्षाकर्मीलाई निकै मर्हाहित बनाएको छ । विद्यालयकाबारेमा कुनै पनि निर्णय लिनु अगाडि अभिभावकरुसंग सधै सल्लाह र सुझाब लिएर अगाडि बढ्ने, शैक्षिक विकास र नयाँ संकल्पकाबारेमा चर्चा गरेर कहिल्य नथाक्ने, शैक्षिक क्षेत्रमा नयाँ योजनाको चर्चा गर्ने र हरेक क्षेत्रमा शिक्षाका बहसमा अब्बल रहदै आएका महर्जन गुमाउदाको पिडा उहाँसंग नजिक रहेर संगत गर्ने धेरैलाई अब खड्किने छ । माउण्ट भ्यू उहाँको अर्को सपना थियो, त्यहीँ सपनालाई साकार पार्न निरन्तर लाग्नु हुने उहाँले कक्षा १२ सम्मको अध्ययन सञ्चालन गर्नु भएको थियो ।

भक्तपुरलाई विश्व कै उत्कृष्ठ शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने उहाँको सपनामा पूर्ण विराम लाग्नु हुदैन । उहाँको दुखद निधनप्रति  एजुकेशन भ्वाइस परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।