शिक्षकलाई-विद्यालय कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिन आग्रह

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था मिलायन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको छ।शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बैठकले खोपको व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ।नेपाल शिक्षक महासंघले पनि शिक्षकका लागि खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षकले पनि छुटपुट रूपमा कोरोनाको खोप लगाएको भए पनि शिक्षकलाई मात्रै लक्षित गरेर खोप कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने माग रहेको बताए। यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराइसकेको उनको भनाइ छ।

सरकारले आगामी असार १ गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरिसकेको छ । जनजीवन सामान्य भएमा कक्षाकोठामा अध्यापन गर्नुपर्ने अवस्था हुने हुँदा शिक्षकलाई खोपको प्राथमिकतामा राख्न माग गरिएको हो।