धौभडेलकोे “मन दुख्यो“ सार्वजनिक

भक्तपुर, २९ जेठ । भक्तपुरका युवा गायक रोशन धौभडेलको म्युजिक भिडियो “मन दुख्यो“ सार्वजनिक भएको छ । वरिष्ठ साहित्यकार तथा गीतकार राजेन्द्र थापाले आज जुम मार्फत म्युजिक भिडियोको सार्वजनिक गर्नु भएको हो । कोरोना भाइरस संक्रमणले बिश्व नै आक्रान्त भइराखेको अहिलेको समयमा भौतिक उपस्थितिमा कार्यक्रम सञ्चालन गर्न नसकिने भएपछि भर्चुअल माध्यमबाट सार्वजनिक गरेको हो ।
कोरप्रीउ अडियो भिडियो मिलको प्रस्तुति रहेको उक्त गीतमा गीतकार अमेरिका निवासी उज्वल बस्नेत, अस्ट्रेलिया निवासी सुशील चालिसेको अबधारणा एबं निर्देशनमा, रोशन धौभडेलको स्वर तथा संगीत र रिक्की कर्माचार्यको छायांकन एबं सम्पादन रहेको छ ।
कार्यक्रममा साहित्यकार तथा गीतकार राजेन्द्र थापाले गायकी राम्रो भन्दै समाधान गर्न मिल्ने थोरै मिक्सिङको समस्यालाई सुधार्न सुझाब दिनुभयो । थापाले कलेज पढ्दाको १७÷१८ बर्षको उमेरमा नै २०१६ सालमा आफूभन्दा १५ बर्ष जेठा यादब खरेलसंगसंगै गीत रेकर्ड गरेको र आफूभन्दा १०÷१५ बर्ष जेठा हरिभक्त, कालिप्रसादहरु भन्दा संयोग र भाग्यका कारण रेकर्डिङमा जेठा हुन पुगेको स्मरण गर्नुभयो । वरिष्ठ साहित्यकार ध्रुब मधुकर्मीले गीतको परिकल्पना राम्रो भएकोले धेरै दर्शकको मन जित्न सफल हुने तान्न सक्ने चर्चा गर्दै गायकलाई शुरुदेखि अन्तसम्म गायकको रुपमा मात्रै नभएर कलाकारको रुपमा पनि देखाइएको भए अझै राम्रो हुने धारणा राख्नुभयो ।
वरिष्ठ गीतकार सुभासचन्द्र ढुंगेलले आफू गीतकार भएको कारण शब्द कसरी शुरु भएको छ भन्र हेर्दा यो गीतको शुरुवात ‘मन दुख्यो भित्रभित्रै, आँशु आँखाभरी, असारको पानी होइन होइन साउने झरी’ नै मन छुने भएकोले गीतकारमा पनि सम्भावना देखेको बताउँनुभयो । गायक रोशन धौभडेललाई जस्तो गीत दिँदा पनि न्याय गर्न सक्ने क्षमता राख्ने राम्रो सम्भावना भएको गायकको रुपमा परिचय बनाउदै गएको भन्दै उहाँले रिक्की कर्माचार्य पनि भक्तपुरको राम्रो सम्भाबना बोकेका भिडियो ग्राफरको रुपमा चिनिएको बताउनु भयो ।
ढुंगेलले ३० को दशकमा आफू रेडियो नेपालमा गीति कथा लेख्दा अहिलेसम्म पनि चर्चामा रहेका राजेन्द्र थापाकै धेरै गीतहरु प्रयोग गरेको स्मरण गर्दै उहाँको क्षमतालाई भक्तपुरले भरपुर सदुपयोग गर्न नसकेका कारण भक्तपुर सांगीतिक समाजले त्यस्तो अबसर नचुकाओस भन्ने सुझाब दिनुभयो ।
लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विस्व संयोजक एबं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका विस्व सल्लाहकार रामकुमार श्रेष्ठले आधुनिक प्रबिधिको सहारा लिएर लकडाउनको यो समयमा तीन फरक महादेशमा बसिरहेका गीतकार, गायक र निर्देशकले सांगीतिक भिडियो ल्याएर प्रसंशनीय काम गरेको भन्दै थप अगाडि बढ्न शुभकामना व्यक्त गर्नुभयो ।
कन्दरा ब्याण्डका हस्ती लोकप्रिय गायक बिवेक श्रेष्ठले ६० को दशकको पुरानो गीतलाई सुहाँदो बाजाहरुको प्रयोग मार्फत न्याय दिएको र पुरानो गीत ल्याएर प्रसंशनीय काम गरेको बताउँदै रोशन धौभडेल राम्रो सम्भावना बोकेका गायक रहेको चर्चा गर्नुभयो । एनआरएन ग्लोबलका क्यानडा निवासी अभिमन्यु बस्नेतले आबश्यक पर्दा सांगीतिक क्षेत्रमा सहयोग गर्न तत्पर रहेको औल्याउनु भयो । मोर्डन बोर्डिङ एबं कलेजका प्रिन्सिपल अनिल कस्पालले यस्तो जटिल समयमा गरिएको काम प्रसंशा गर्नुभयो ।
भक्तपुर सांगीतिक समाजका सचिब अलबर्ट बज्राचार्यले राजेन्द्र थापामा भएको अथाहा ज्ञान र सीपको भक्तपुरबासीले फाइदा लिन नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो । भक्तपुर सांगीतिक समाजका अध्यक्ष तथा गायक प्रबिण शाहीद्धारा सञ्चालित कार्यक्रममा सुशील चालिसेद्धारा स्वागत मन्तब्यका साथै म्युजिक भिडियोको बारेमा जानकारी गराउनु भएको थियो । जुम कार्यक्रमको लागि चैतन्य ईन्स्टिच्युट अफ म्यनेजमेन्ट बानेश्वर काठमाडौका प्रबन्ध निर्देशक गणेशप्रसाद जोशीले सहयोग गर्नुभयो ।