मध्यपुरथिमिमा मेयर श्रेष्ठसंग विद्यालयमा मातृभाषा अध्ययन गराउन माग

भक्तपुर, ३१ जेठ । नेपालभाषा संरक्षण अभियानले विद्यालयस्तरमा स्थानिय मातृभाषा (नेपालभाषा)को विषय अनिवार्य अध्यापन गराउन माग गरेका छन् । मध्यपुरथिमि नगरपालिका पुगेर आज नगर प्रमुख मदन सुन्दर श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउदै नगरपालिकाको विद्यालयस्तरमा स्थानीय मातृभाषा (नेपालभाषा)को विषय अनिवार्य अध्यापन गराउनुपर्ने माग गरेको हो ।
मध्यपुर नगर क्षेत्रका भाषाप्रेमी तथा शिक्षासेवीहरु एवं नेपालभाषा संरक्षण अभियानका संयोजक कृष्णकाजी मानन्धर, सदस्यहरु नविन प्रकाश श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुरेन्द्र किलंनः श्रेष्ठ, ओम कृष्ण श्रेष्ठ, जीवन पति श्रेष्ठको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
विगत दुई वर्षदेखि विभिन्न निकायमा पुगेर ध्यानाकर्षण गराएपनि माग सुनुवाइ नभएपछि शिक्षा समितिका पदेन अध्यक्ष तथा नगर प्रमुख श्रेष्ठलाई लिखित ध्यानाकर्षण पत्र बुझाएको संयोजक मानन्धरले जानकारी दिनुभयोे ।
पत्र बुझ्दै नगर प्रमुख श्रेष्ठले आगामी असार ७ गतेदेखि सुरु हुने मध्यपुरथिमिको नगर परिषद्को बैठकमा प्रस्तावको रुपमा पेश गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले अहिलेको लागि नीति तथा कार्यक्रममा उल्लेख गरेर बजेट विनियोजन गराउने, अहिलेको अवस्थामा आधार नबनि सकेको भएपनि निकट भविष्यमा आवश्यक कार्यदल बनाएर स्थानिय मातृभाषा (राष्ट्र भाषा)लाई कार्यान्वयन गराउने, पाठ्यक्रम घोषणा मात्र गरेर नपुग्ने बरु त्यसको लागि आवश्यक तयारी गरेर अगाडि बढ्ने, नगरभित्रका संस्थागत र सामुदायिक विद्यालयको लागि दु्ई वर्ष अघि नै आधारभूत तहको स्थानिय पाठ्यक्रम बनाएको भएपनि पूर्ण रुपमा कार्यान्वयन गराउनमा कठिन भइरहेको, विद्यार्थी कम भएका विद्यालयहरुलाई गाभ्ने, शिक्षक नियुक्ती लगायतका योजना समेत कार्यान्वयनमा समस्या, शैक्षिक योजना बनाएर अनिवार्य नेपालभाषा अध्यापन गराउनको लागि पहल गर्ने बताउनुभयो ।