आजबाट देशभर भर्ना अभियान शुरु, सफल पार्न मन्त्री श्रेष्ठको आव्हान

भक्तपुर, १ असार : सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु गरेको छ । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले असार १ गतेदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेपछि आजबाट देशभर भर्ना अभियान शुरु भएको हो ।
शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आजदेखि सुरु भएको भर्ना अभियान र बैकल्पिक बिधिबाट हुने पठनपाठनलाई सफल पार्न आव्हान गर्नु भएको छ । आज शिक्षक संगठनसंग भएको भर्चुअल छलफलमा उहाँले भर्ना अभियानलाई सफल पार्न सबैमा आव्हान गर्नु भएको हो ।
मन्त्रालयले शिक्षा तथा मानव विकास स्रोत केन्द्रमार्फत सबै जिल्लामा भर्ना अभियान सुरु गर्न निर्देशन दिएको थियो । कोभिड–१९ सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि बैकल्पिक बिधिबाट पठनपाठनलाई निरन्तरता दिने गरि शैक्षिक सत्र प्रारम्भ गरिएको हो । सरकारले सबै विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन पूरा गरी नतिजा प्रकाशन गरेर कक्षा १० सम्मको अध्ययन गर्ने देशभरका विद्यार्थीको पठनपाठन शुरु गर्न भर्ना अभियान सञ्चालन गरेको हो ।
शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले असार १ गतेदेखि देशभार भर्ना अभियान शुरु भएको जानकारी दिनुभयो । केन्द्रले अहिलेको विषम परिस्थितिमा विद्यालयमा भौतिक उपस्थितिमा नभइ अनलाइन, टेलिफोन या अन्य कुनै माध्यमबाट असार १ गतेबाट विद्यार्थीको कक्षामा अभिलेकीकरण शुरु गरि असार १५ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।
विद्यालयले विद्यार्थीको अभिलेखीकरण कार्य पूरा गरि आफ्नो नजिकको बिक्रेताबाट पाठ्यपुस्तक खरिद गरेर विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक उपलब्ध गराउनुपर्ने छ । त्यसपछि विद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नसक्ने अबस्थामा बैकल्पिक बिधि अनलाइन, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट विद्यार्थीको सिकाइलाई अगाडि बढाउनु पर्नेछ । कोरोना महामारी घटेर स्थिति सामान्य भएपछि भने विद्यालयले भौतिक रुपमा विद्यार्थीको उपस्थिति गराई कक्षा सञ्चालन गर्न सक्नेछन् ।
कोरोना महामारीका कारण विद्यार्थीहरुसमेत गाउँ गाउँमा गएकाले भर्ना अभियान विगतका वर्षहरुमा जस्तो प्रभावकारी हुनेमा आशंका पैदा भएको छ । २०७६ सम्ममा सरकारले बैशाख १ गतेदेखि १५ गतेसम्म भव्य रुपमा बिभिन्न कार्यक्रमहरु गर्दै भर्ना अभियान सञ्चालन गर्दै आएको थियो । विद्यालय जाने उमेर समूहका कोही बालबालिका पनि विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्दै भव्य रुपमा भर्ना अभियान सञ्चालन गर्ने र घरदैलो अभियान गर्ने गर्दै आएको थियो ।
२०७७ सालदेखि भने कोरोना भाइरसको महामारीका कारण भर्ना अभियान प्भावकारी हुन सकेको थिएन । गतवर्ष शैक्षिक सत्र कहिलेबाट सञ्चालन गर्ने भन्दै अन्योल भयो भने साउनदेखि बैकल्पिक बिधिबाट पठनपाठन सुरु भएको थियो । यस वर्ष भने सरकारले असार १ गतेदेखि नयाँ शैक्षिक सत्र निर्धारण गरेको हो । बैकल्पिक बिधिबाट पठनपाठन हुने भएपछि गतवर्ष धेरै विद्यार्थीले पढाई छोडेको आँकलन गरेपनि गत वर्ष कति विद्यार्थी भर्ना भए र यस वर्ष कति विद्यार्थी भर्ना हुन्छन् भन्ने तथ्याङ्क समेत केन्द्रले राख्न सकेको छैन ।
त्यसैगरि कक्षा ११ को पठनपाठन भने भदौबाट गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको असार मसान्तसम्म आन्तरिक मूल्याङ्कन गरिसक्ने साउन दोस्रो सातासम्म एसइईको अन्तिम नतिजा प्रकाशित गरि भदौबाट कक्षा ११ को पठनपाठन शुरु गरिने छ ।