मेलम्चीको बाढीले दुई विद्यालयमा क्षति

सिन्धुपाल्चोक, ५ असार । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले दुईवटा विद्यालय भवन बगाएको छ । गएराति आएको बाढीले एउटा सामुदयिक र एउटा निजी गरी दुईवटा विद्यालयमा क्षति पु¥याएको हो । मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङमा रहेको तेर्से माध्यामिक विद्यालयमा आंशिक र हेलम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेको इस्ट पोइन्ट एकेडेमीमा पूर्ण रुपमा बाढीले क्षति पु¥याएको छ ।

निजी विद्यालय इस्ट पोइन्ट एकेडेमीको दुईवटा भवनमध्ये एउटा बगाएको र अर्को आधा भाग बगाएर आधा बाङ्गो अवस्थामा रहेको बताइएको छ । विद्यालयको कागजपत्रबाहेक अरु केही पनि बचाउन नसकिएको विद्यालयका प्रधानाध्यापकले जनाए । त्यसैगरी मेलम्ची नगरपालिकाको तालामाराङमा रहेको तेर्से माध्यामिक विद्यालयको चारवटा कक्षा कोठा र शौचालय बगाएको छ । राति १२ बजे आएको बाढीले विद्यालयको भवन बगाएको हो । यस विपत्तिसँगै असार १५ देखि विद्यार्थीलाई सिकाइसँग जोड्ने तयारी गरिरहेका यी विद्यालयमा अन्योल छाएको छ ।