महर्जनप्रति श्रद्धाञ्जली ‘आर्थिक क्रान्तिका लागि शैक्षिक पर्यटन अभियान’ सार्थक बनाउने शिक्षाप्रेमीको घोषणा

-रमेश गिरी

भक्तपुर, ६ असार । भक्तपुरसहित नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अभियानका परिकल्पनाकार स्व. राजकुमार महर्जनको ‘आर्थिक क्रान्तिका लागि शैक्षिक पर्यटन अभियान’लाई सार्थक बनाउनु पर्ने शिक्षाप्रेमीहरुले जोड दिएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस बोडिङ स्कुलका संस्थापक प्रिन्सिपल, प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार, क्वेष्ट नेपालका अध्यक्ष, प्याब्सन भक्तपुरका पूर्वअध्यक्ष स्वं राजकुमार महर्जनको १३ औँ दिनको पूण्य तीथिको अवसरमा जुम मार्फत प्याब्सन भक्तपुरले आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा शिक्षाप्रेमीहरुले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) केन्द्रीय अध्यक्ष टिकाराम पुरीले कोभिडका कारण धेरै प्रिन्सिपल र शिक्षक गुमाउनु परेको भन्दै महर्जनको निधनले शिक्षा क्षेत्रको एउटा नक्षत्रलाई गुमाउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले शिक्षा क्षेत्रको एक नक्षत्रलाई गुमाएका छौँ, नेपालको शिक्षालाई समयानुसार फरक ढंगले लानुपर्छ भन्ने साचे राख्ने, शिक्षाको विकासमा धेरै भिजन भएको एउटा खम्बालाई हामीले गुमाएका छौँ ।” आगामी दिनमा नेपालको शिक्षाको गुणात्मक विकासमा लैजाने भिजन राजकुमार महर्जनसंग थियो भन्दै उहाँले महर्जनको योगदानलाई सधै जिवन्त राख्न भक्तपुरदेखि केन्द्रीय प्याब्सनसम्मले कार्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीले कोभिडको सङ्क्रमणले अस्पतालबाट उहाँ फर्केर पुनः शिक्षाको विकासमा लाग्नु हुनेछ भन्ने विश्वास रहेपछि फर्काउन नसकिएको बताउनुभयो । शिक्षाको विकासमा उहाँले थुप्रै योजना र हरेक समस्याको बिकल्प लिएर आउने महर्जनले उहाँको शिक्षाको सोच, सपना र योगदानलाई अब कसरी अगाडि बढाउने एक भएर अगाडि बढ्नु पर्ने औल्याउनुभयो ।

“अस्पतालको शय्याबाट उहाँ मेरो स्कुल छ, त्यहाँ मेरा धेरै छोराछोरी छन्, तिनका लागि पनि म फर्केर जानुपर्छ भन्नुहुन्थ्यो, उहाँ आफ्नो स्कुलमात्रै होइन, नेपालकै शिक्षा उत्कृष्ट बनाउनुपर्छ भनेर लाग्नु हुन्थ्यो,” अध्यक्ष अधिकारीले भन्नुभयो, “भक्तपुरलाई देशकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउनुपर्छ, नेपाललाई विश्वकै शैक्षिक गन्तव्य बनाउन ‘आर्थिक क्रान्तिका लागि शैक्षिक पर्यटन’ भन्दै अभियान चलाउने उहाँको लक्ष्यलाई अब हामी सबैले पुरा गर्नुपर्छ ।” स्व. महर्जनको अभाव अब खड्किरहन्छ भन्दै उहाँले भक्तपुर प्याब्सनले उहाँको सम्झनामा विद्यार्थी, शिक्षक, विद्यालय र राष्ट्रियस्तरमा के गर्न सकिन्छ भनेर एउटा समितिसहित कार्यबिधी बनाएर छिट्टै निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा भक्तपुरका पूर्व जिल्ला शिक्षा अधिकारीद्वय सुन्दरकुमार शाक्य र अर्जुन रायमाझीले उहाँसंग शैक्षिक गन्तव्य बनाउनेबारेमा धेरै छलफल भएको स्मरण गर्दै उहाँको अभियानलाई पुरा गर्न सबै लाग्नुपर्ने बताउनुभयो । प्याब्सन केन्द्रीय महासचिव आर.बि. कटुवालले बहुप्रतिभाका धनी महर्जनले शिक्षाप्रेमी, बालबालिकालाई धेरै तालिम दिएको र भक्तपुरमा मन्टेश्वरी शिक्षाको ढोका खोल्ने व्यक्तित्वको रुमपा स्मरण गर्नुभयो । धेरै लक्ष्य राख्ने उहाँले अधूरो लक्ष्य र सपनालाई पुरा गर्नुपर्नेमा जोड दिनुभयो । प्याब्सन वाग्मति प्रदेश अध्यक्ष ठकिन गुरुङले शिक्षा क्षेत्रमा धेरै काम गर्न चाहने महर्जनको योगदानलाई सधै सम्झन अक्षयकोषको स्थापना गर्नुपर्ने बताउदै उहाँले त्यसका लागि आफू रकम दिन तयार रहेको भनाइ राख्नुभयो ।

कार्यक्रममा हिसानका भक्तपुर अध्यक्ष अनिल कसपालले भन्नुभयो, “उहाँको सपना पुरा गर्न हामी, छौँ, उहाँको परिवार छ, स्कुल छ, उहाँले देखेको बाटोलाई सबै मिलेर पहिल्याउनु पर्छ, सबै शिक्षाप्रेमी एकआपसमा मिलेर पूर्णता दिने प्रयास गर्नुपर्छ ।”
संस्थागत विद्यालय संघ (इशान)का केन्द्रीय अध्यक्ष प्रेमजंग थापाले भक्तपुरलाई शैक्षिक गन्तव्यको विकास गर्नुपर्छ, पढ्नका लागि विदेश जानेलाई रोकेर यहीँ गुणस्तरीय शिक्षा दिनुपर्छ, विदेशीलाई नेपालमा शिक्षा लिन आउँने बनाउन सक्नुपर्छ भनेर अगाडि बढ्ने उहाँको योगदानलाई भूल्न नहुने बताउनुभयो ।

एन प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले स्व. महर्जन शैक्षिक धरोहरको रुपमा रहेको चर्चा गर्दै शिक्षा क्षेत्रमा नविनतम सोच बोकेर हिड्ने, प्रेरणादायी व्यक्तित्वको रुपमा रहेको चित्रण गर्नुभयो । उहाँको उदेश्य र सपना पुरा गर्न कुन संगठन नभनी सबै शिक्षाप्रेमी लाग्नु पर्नेमा जोड दिनुभयो ।

क्वेष्ट नेपालका केन्द्रीय सचिव सिंह लामाले महर्जनको निधनले सिंगो शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै उहाँलाई प्रत्येकवर्ष सम्झने माध्यम बनाउन पुरस्कारको घोषणा गर्नुपर्ने बताउनुभयो । शिक्षाको विकासका लागि क्वेष्ट नेपाल र एस क्यिू सी (स्टुडेन्ट, क्वालिटी सर्कल) भक्तपुरमा भित्रयाउन उहाँसंगै प्याब्सन भक्तपुरका पूर्वअध्यक्ष भुवनलाल श्रेष्ठले ढोका खोलेको चर्चा गर्दै यसको पाठ्यक्रम निर्माणमा पनि ठूलो योगदान दिएको बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिका शिक्षा शाखाका प्रमुख हरिप्रसाद निरौलाले निरौलाले आफू पाठ्यक्रम विकास केन्द्रमा रहदाँदेखि नै महर्जनसंग शिक्षाका धेरै काम गर्ने अवसर मिलेको भन्दै उहाँले शिक्षा क्षेत्रमा गरेको योगदान अबिस्मरणीय रहने बताउनुभयो ।

भक्तपुर प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठले भक्तपुरलाई विश्वकै शैक्षिक हब बनाउनुपर्छ भनेर लाग्ने शिक्षाका चिन्तक गुमाउदाको पीडा शिक्षा क्षेत्रले भोगेको बताउनुभयो । उहाँले भन्नुभयो, “देशको मात्रै नभई अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य बनाउने उहाँको सपना अब हामीले पुरा गर्न सके मात्रै उहाँप्रति महत्वपूर्ण र सच्चा श्रद्धाञ्जली हुनेछ ।” कार्यक्रममा प्याब्सनका सचिव कुमार श्रेष्ठले स्व. महर्जनको योगदानलाई सधै सम्झनका लागि उहाँको नाममा राष्ट्रियस्तरको पुरस्कारको घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्वर्गीय महर्जनकी पत्नी मिना महर्जन, प्याब्सन पदाधिकारीहरु डि.के. ढुङ्गाना, राजेन्द्र बानियाँ, संगिता हमाल, गोपाल आचार्य, दीपिका थापा, भुवनलाल श्रेष्ठ, गणेशबाबु पोखरेल, श्रीकृष्ण केसी, धर्मरत्न खाइतु, निरु ढकाल, भक्त राजभण्डारी,कुमार घिमिरेलगायत ७४ जनाको सहभागिता रहेको थियो ।