एक घर एक रोजगार, विद्यालयमै करेसाबारी

गलकोट, असार  : बागलुङको बरेङ गाउँपालिकाले एक घर एक रोजगार कार्यक्रम अघि सारेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएर फर्किएका व्यक्तिका लागि उद्योग व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर गराउने उद्देश्य गाउँपालिकाले राखेको छ । स्वरोजगार चाहने युवा तथा उद्यमीलाई लक्षित गरी ऋणमा ब्याज सहजीकरणसहित युवा स्वरोजगार कार्यक्रम तथा एक घर एक महिला रोजगार कार्यक्रमलाई अघि सारिएको छ । गाउँपालिकाले शनिबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एक विद्यालय एक करेसावारी, रोग पालेर हैन फालेर बाचौँ, प्राविधिक शिक्षा अध्ययन छात्रवृत्ति, गुणस्तरीय स्वास्थ्य सेवा गाउँपालिकाको प्रतिबद्धता र सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम ल्याएको छ ।

बागलुङका १० पालिकामध्ये बरेङबाट आर्थिक वर्ष २०७८÷७९ को बजेट तथा कार्यक्रम सार्वजनिक गर्न शुरु भएको छ । गाउँपालिकाकोे सातौँ गाउँसभामा आव २०७८÷७९ का लागि पालिका अध्यक्ष कृष्णप्रसाद शर्माद्वारा नीति कार्यक्रम तथा उपाध्यक्ष दिलकुमारी पुनद्वारा बजेट प्रस्तुत गरिएको छ । उहाँले गाउँसभामा रु ३७ करोड ३४ लाख ४७ हजार ४४० बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाले कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि रु करोड १५ लाख, शिक्षा क्षेत्रका लागि रु एक करोड ९८ लाख बजेट विनियोजन गरेको छ ।

बजेट प्रत्येक विद्यालयमा करेसाबारी, एक स्वास्थ्यकर्मी एक उपकरण झोलालगायत कार्यक्रम ल्याइएको छ ।  प्राविधिक शिक्षा अध्ययन गर्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीका लागि प्राविधिक शिक्षा अध्ययन छात्रवृत्तिको व्यवस्था गरिने गाउँपालिकाले बजेटमा उल्लेख गरेको छ । कोभिड–१९ रोकथाममा नेपाल सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञालाई मध्यनजर गरी इन्टरनेटको पहुँच विद्यार्थीसम्म पु¥याइ बेभसाइट, मोबाइल एप, सामाजिक सञ्जाल, रेडियो, अडियो तथा अन्य भिडियो कन्फेरेन्सिङ टुलमार्फत शिक्षण सिकाई क्रियाकलाप अघि बढाइने, बरेङका उत्कृष्ट कृषक पुरस्कारमार्फत कृषक तथा कृषि पेशालाई थप प्रोत्साहित गर्ने, बाँझो जमीनको प्रयोग, उत्पादनमा सहयोग, घरबास प्रबद्र्धनलगायत कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले जनाएको छ ।

डाक्टर, इञ्जिनीयर पढाउन सघाउँदै ताराखोला जिल्लाको ताराखोला गाउँपालिकाले उच्च शिक्षा अध्यापनका लागि विद्यार्थीलाई आर्थिक सहयोग गर्न थालेको छ । गत आवदेखि गाउँपालिकामा जन्मेर विभिन्न क्याम्पसमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीका लागि छात्रवृत्ति दिन थालिएको छ । गाउँपालिकाले गत वर्ष रु चार लाख आठ गरिब तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति स्वरुप प्रदान गरिसकिएको छ । चालू आवमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिसकेको गाउँपालिकाले जनाएको छ ।

गाउँमा डाक्टर, इञ्जिनियर जस्ता प्राविधिक धारमा अध्ययन गर्न अभिप्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो । गाउँपालिकाले विशेष गरि डाक्टर तथा इञ्जिनीयर अध्ययन गर्नेका लागि उक्त शैक्षिक अनुदान कार्यक्रम केन्द्रित गरेको छ । गाउँपालिकाले निर्माण गरेको कार्यविधिअनुसार पाँच प्राविधिक र तीन साधारण अध्ययन गर्नेलाई छात्रवृत्ति दिइने गरेको गाउँपालिकाका शिक्षा अधिकृत सविताकुमारी केसी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले खुलाएको निवेदनमा १२ जनाको आवेदन परेकामा गरिब, जेहेन्दार तथा योग्यताका आधारमा आठ विद्यार्थी छनोट गरेको छ ।