महामारीकै बीच शुरु भयो वैकल्पिक विधिमा पढाइ

काठमाडौं, २२ असार । शैक्षिक सत्र सुरु भएसँगै भर्ना अभियानका साथसाथै केही सामुदायिक विद्यालयहरूले अनलाइन विधि र टोल समूह सिकाई सुरु गरिसकेका छन्।
काठमाडौंको नीलबाराही मा.वि.ले असार ६ गते बाट नै अनलाईन कक्षा सञ्चालन गरिरहेको छ। तर सबै विद्यार्थीलाई अनलाईन कक्षामा जोड्न भने नसकिएको विद्यालयले जनाएको छ।
‘अनलाइन कक्षामा ६० प्रतिशत विद्यार्थी मात्रै सहभागी हुन्छन्। बाँकीलाई मोवाईल र इन्टरनेटको पहुँच नभएकाले जोड्न सकिएको छैन।’ नील बाराहीकी प्रधानाध्यापक जानुका नेपालले भनिन् ‘उपल्लो कक्षाका भन्दा तल्लो कक्षाका बालबालिकाको सहभागिता निकै कम छ।’ टोल सिकाइमा गत शैक्षिक सत्रबाट अभ्यस्त बनेको दार्चुलाको व्याँस गाउँपालिकाका विद्यालयहरु यसपटक पनि सोही तयारीमा छन्।
‘टोलटोलमा समूह बनाएर पढाउँदा बालबालिकाको अध्ययन गर्ने बानी बसेको गत वर्षबाट पाएका छौं। यो शैक्षिक सत्रमा पनि भौतिक उपस्थितिमा नमिल्दासम्म त्यसरी नै पढाउन निर्देशन दिएका छौं।’ गाउँपालिकाका शिक्षा अधिकृत केशवराज ओझाले भने ‘आफ्नो पराई विद्यालय नभनी जुन शिक्षकले जुन टोलमा सहज हुन्छ त्यहाँ पढाउनुहुन्छ। यसो गर्दा संक्रमण फैलने डर हुन्न।’
ओखलढुङ्गा मानेभञ्ज्याङको भगवती माविले पनि टोलटोलमा शिक्षक पठाएर पठनपाठन सुरु गरेको प्रधानाध्यापक नारायण बास्तोलाले जानकारी दिए। यस्तै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका पनि टोल समूह सिकाई गर्ने तयारीमा छ। शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले भने ‘प्रविधिको पहुँच नभएको विद्यालयलाई टोलटोलमा शिक्षक गएर पढाउन विद्यालयलाई परिपत्र गरिसकेका छौं।’
शिक्षाविद् भन्छन् : वैकल्पिक शिक्षाका लागि सरकारको तयारी पुगेन :
शिक्षा विकासको प्रमुख आधार भए पनि सरकारले यसलाई विकासको रुपमा नलिएको शिक्षाविद्को भनाई छ। गत वर्षदेखि वैकल्पिक विधिबाट पठनपाठन गर्न निर्देशन दिएको सरकारले यसको तयारीमा भने उदासिनता देखाएको उनीहरुको धारणा छ। ‘पठनपाठनको माध्यम प्रविधि हुँदा पाठ्यक्रम र सिकाई प्रक्रिया भने प्रविधिमैत्री बनाएनन्।’
शिक्षाविद् डा. टंकनाथ शर्माले भने ‘पढाउन टेक्नोलोजीको प्रयोग गरेको अहिलेको अवस्थामा त्यो प्रणालीमा आवश्यक पर्ने पाठ्यक्रम, शैक्षिक सामग्री, प्रकृया र परीक्षाको तालमेल मिलाउन सकेको छैन।’ उनले थपे ‘तीनै तहको सरकार बालबालिकाको भविष्य र शैक्षिक गुणस्तरमा संवेदनशील बन्न सकेनन्। ’