अन्तिम साता होम सेन्टरमा कक्षा १२ को परीक्षा गर्ने तयारी

काठमाडौं, २२ असार । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ।
भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ। बोर्डका अध्यक्ष प्राध्यापक चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए।
अध्यक्ष पौडेलले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट गरे। केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले बोर्डका प्रस्तावमा छलफल गरेर मात्रै निर्णय हुने उल्लेख गर्दै त्यसका लागि केही दिन लाग्न सक्ने बताए। कक्षा १२ का विद्यार्थीको राष्ट्रिय परीक्षा होम सेन्टरबाटै हुने सम्भावना बढेको छ। कोरोना भाइरसको सङ्क्रमण कम भए पनि पूरै नघटेकाले अर्को विद्यालयमा परीक्षा दिन जान सक्ने अवस्था भने नरहेको सरकारी अधिकारीहरूले बताएका छन्।
शिक्षा मन्त्रालयका सहसचिव शर्माले अर्को विद्यालयमा परीक्षा दिलाउने कुरामा समस्या पर्न सक्ने आकलन आफूहरूले गरेको उल्लेख गर्दै यस विषयमा पछि निर्णय हुने बताए।