प्राचिन खेल डोरीतान देशभरी विस्तार, नेपाल डोरीतान संघ वाग्मति प्रदेश अध्यक्षमा शाक्य चयन

भक्तपुर, २९ असार : जुनसुकै उमेर समुह तथा लिङ्का व्यक्तिहरुबाट रमाइलो गर्दै खेलिने एवं यसले शारीरिक तन्तुरुस्ती बनाउने विश्वकै प्राचिन डोरीतान खेललाई नेपालमा देशव्यापी रुपमा विस्तार गरिने भएको छ । परम्परादेखिनै चल्दै आए पनि पछिल्लो समयमा यी खेलहरु नेपालमा ओझेलमा पर्दै गएपछि डोरीतान्ने नेपालको पुरानो खेललाई जोगाउन नेपाल डोरीतान संघले यो खेललाई देशव्यापी रुपमा बिस्तार गर्ने भएको हो ।

यसैक्रममा नेपाल डोरीतान संघ (नेपाल टग अफ वार) वाग्मति प्रदेशको अध्यक्षमा सुन्दरकुमार शाक्य (भक्तपुर) चयन हुनुभएको छ । उपाध्यक्षमा आशिष श्रेष्ठ (ललितपुर), सचिवमा निरोज महर्जन (ललितपुर), कोषाध्यक्षमा जमूना महर्जन (मकवानपुर) र सहसचिवमा मुरारीप्रकाश सञ्जेल (काठमाडौंँ) चयन हुनु भएको संंघ केन्द्रीय उपाध्यक्ष एवं वाग्मति प्रदेश संयोजक भुवनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरि प्रदेश सदस्यहरुमा कर्मा वाङ्गेल लामा (सिन्धुपाल्चोक), ओम प्रधान (सिन्धुली), रमेश श्रेष्ठ (धादिङ्), प्रल्हाद खनाल (काठमाडौं), नारायणप्रसाद श्रेष्ठ (रामेछाप), जानकी गुरुङ (काठमाडौं), हिरा शर्मा नेपाल (काभ्रे), श्रीराम दाहाल (काठमाडौं) चयन हुनुभएको छ ।

जिल्ला शिक्षा अधिकारी हुुदैँ शिक्षा मन्त्रालय एवं मातहतका कार्यालयमा सेवा गर्दैँ हाल अवकाश प्राप्त अध्यक्ष शाक्यले यस खेललाई विद्यालयस्तरमा बिस्तार गर्दै लैजाने बताउनुभयो । नेपाल टग अफ वारका केन्द्रीय अध्यक्ष भवानी पौडेलले कार्यक्रममा संघको भावी योजना, कार्य योजना, विगतमा भएका कार्यक्रमकाबारेमा जानकारी गराउनु भएको थियो ।

संंघ केन्द्रीय उपाध्यक्ष एवं वाग्मति प्रदेशका संयोजक भुवनलाल श्रेष्ठले चयन भएका समितिको नामावली घोषणा गर्नु गर्दै संघलाई बाँकी दुई वटा प्रदेश र जिल्ला हुँदै देशभरी विस्तार गरिने बताउनुभयो । कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं. १ का अध्यक्ष सूर्य भण्डारीले स्कुल र कलेजमार्फत डोरीतान खेललाई बिस्तार गरिदै लगेको बताउनुभयो । अन्तर्राष्ट्रिय डोरीतान महासंघको नियम अनुसार प्रत्येक खेल बेष्ट अफ थ्री नकाउटका आधारमा खेलाईन्छ ।