शहरमै प्रभावकारी छैन अनलाइन शिक्षा, के होला स्कुल खोल्ने प्रस्ताव

काठमाडौं : नेपालमा पुनः नयाँ भेरियन्टसहितको कोरोना संक्रमण फैलिएपछि वैशाख १६ गतेबाट निषेधाज्ञा जारी भयो। निषेधाज्ञा जारीपछि सबै शैक्षिक संघ संस्था अहिलेसम्म पनि बन्द गरिएका छन्।

भौतिक रूपमा पढाइ सञ्चालन हुने अवस्था नभएपछि असार १ गतेदेखि नयाँ भर्ना गर्ने र तत्कालको लागि वैकल्पिक माध्यमबाट पढाइ सुचारु सरकारले गरेको छ। वैकल्पिक विधिबाट पढाइ भएको एक महिना पूरा हुँदै छ। तर, यस अवधिसम्म अनलाइन कक्षामा खासै प्रभावकारी नभएको अभिभावक बताउँछन्।

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारी काठमाडौं जस्तो सहरमै अनलाइन कक्षाले प्रगति नलिएको तर्क गर्छन्। उनी भन्छन्,‘भौतिक उपस्थितिमा जस्तो कहाँ अनलाइन कक्षा प्रभावकारी हुन्छ र? अनलाइन कक्षा खासै प्रभावकारी देखिएन,कतिपय स्कुलले अझै पढाएका नै छैनन्।’

उनी निजी स्कुलले सिकाएकोमा ६० देखि ७० प्रतिशत र सामुदायिक स्कुलले पढाएकोमा करिब ५० प्रतिशत प्रभावकारी भएको मान्न सकिने बताउँछन्।  उनले ग्रामीण क्षेत्रमा उपकरण नहुँदा सिकाइ नै अघि बढ्न नसकेको सुनाए। ‘गाउँघरतिर ल्यापटप,कम्प्युटर जस्ता उपकरणहरू छैन, इन्टरनेटको त कुरै छोडौँ,सरकारले उपकरण खरिद गरिदिँदैन,’उनले भने,‘त्यसैले अब शहरमा नभई जोखिम कम भएका जिल्लामा विस्तारै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी स्कुल सञ्चालन गरौँ।’

भण्डारीका अनुसार  गाउँघरमा रेडियो,टेलिभिजन(अफलाइन विधि)बाट पढाई सञ्चालन गर्न सकिन्थ्यो। तर,ती माध्यामबाट पनि पढाइ भएको पाइँदैन। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी ५० प्रतिशत मात्रै अनलाइन कक्षामा विद्यार्थी उपस्थिति हुने गरेको बताउँछन्।

उनी भन्‍छन्,‘करिब ७० प्रतिशत निजी स्कुलले अहिले अनलाइन कक्षा चलाएको छ,तर,५० प्रतिशत मात्रै विधार्थी अनलाइन कक्षामा उपस्थिति हुन्छन्,त्यही भएर सबै विद्यार्थीलाई अध्ययनमा समेट्न सकिएन।’ अनलाइन कक्षा प्रभावकारी भएको नै मान्नुपर्ने उनको भनाइ छ। उनका अनुसार उपकरणहरू नभएकाले सिकाइ अगाडि बढाउन सकिएको छैन।

अभिभावक र प्याब्सनले सरकारसँग उपकरण खरिद गर्न माग गरिरहँदा यता, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले ग्रामीण भेगको अनलाइन कक्षाको लागि कुनै उपकरण किन्ने तयारी नगरिएको बताए। ‘यो परिस्थितिमा सरकारले वैकल्पिक विधिबाट सिकाइ सहजीकरण गरेको हो,उपकरण खरिद गर्ने व्यवस्था छैन,’उनले भने।

वैकल्पिक विधि अनलाइन माध्यम मात्रै नभई अरू विधिहरू पनि भएको उनले बताए। उनका अनुसार इन्टरनेट माध्यामबाट मात्रै नभई रेडियो, टेलिभिजनबाट पनि पढाइ सञ्चालन गरिएको छ। ‘यो महामारीमा पढाई नरोकियोस् भनेर स्थानीय तहको समन्वयमा सामुदायिक रेडियोबाट पनि सिकाइ अगाडि बढाइएको छ,यो विधि इन्टरनेट नभएका ठाउँमा लागू गरिएको छ,त्यसैले हामीले भने प्रभावकारिता नै रहेको पायौँ,’शर्माले भने।