वैकल्पिक शिक्षाबाट वञ्चित हुँदै विद्यार्थी

हुम्ला, ३१ असार ।  विद्यालयहरूमा अनलाइनमार्फत पठनपाठन सुरु भए पनि दुर्गम गाउँका बासिन्दा वैकिल्पक शिक्षाबाट वञ्चित भएका छन् । हुम्लाका अधिकांश स्थानीय तहमा इन्टरनेट सेवा भरपर्दो नहुँदा पठनपाठनमा समस्या भएको हो । सदरमुकाम सिमकोटका केही विद्यालयमा अनलाइन माध्यमबाट पठनपाठन भए पनि अन्य ठाउँमा वैकल्पिक माध्यमबाट पढाउन समस्या भएको रलिड मावि बरगाउँका शिक्षक हिमालय खत्रीले बताए । ‘फोन त राम्ररी टिप्दैन,’ उनले भने, ‘कसरी अनलाइन कक्षा सञ्चालन गर्ने ?’ उनका अनुसार ताजाकोट, नाम्खा गाउँपालिकाको लिमी, चङ्खेली गाउँपालिकाको नेप्कालगायत गाउँमा लामो समयदेखि फोन सेवासमेत अवरुद्ध छ ।

गाउँमा इन्टरनेट सुविधा नभएपछि जिल्लाबाहिरका विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीले सदरमुकाम आएर अनलाइन कक्षा लिइरहेका छन् । ‘गाउँमा इन्टरनेटको सुविधा छैन, सदरमुकाम नआए परीक्षाको तयारीमा समस्या हुने देखियो,’ काठमाडौंमा सव–इन्जिनियर पढिरहेका खार्पुनाथका कमल बुढाले भने, ‘सिमकोटमा कोठा लिएरै अनलाइन कक्षा लिइरहेको छु ।’ उनले कलेजमा महँगो शुल्क तिरेको बताउँदै अनलाइन कक्षा लिनुको विकल्प नभएको बताए ।

सिमकोटमा आफन्त नहुने र कोठा नपाउनेहरू पढाइबाट वञ्चित भएको स्थानीय हेमन्त लामाले बताए । ‘कोरोनाकै कारण गत वर्ष पनि ढिलो गरी शैक्षिक सत्र सुरु भए,’ उनले भने, ‘ढिलो गरी सुरु भएका विद्यालय र क्याम्पसको कोर्स पनि सकिएको छैन, इन्टरनेट नहुँदा दुर्गम गाउँका विद्यार्थीले परीक्षाको तयारी गर्न सकेका छैनन् ।’

काठमाडौ, नेपालगन्ज, सुर्खेतलगायत सहरका कलेजहरूले अनलाइन कक्षा सञ्चालन गरे पनि इन्टरनेट सुविधा नहुँदा पढाइबाट वञ्चित भएको सर्केगाडका छिरिङ तामाङले बताए । उनी काठमाडौंको एक निजी कलेजमा कक्षा १२ मा अध्ययनरत छन् । ‘न कोर्स सकियो न ट्युसन नै पढ्न पाइयो,’ उनले भने, ‘खेतीपातीका कामले एक महिनादेखि किताब नै छोएको छैन ।’

उनका अनुसार कोरोनाको त्रासका कारण अधिकांश विद्यार्थीको पढ्ने मनोविज्ञान नै फेरिएको छ । कोरोना महामारीका कारण बालबालिकाको पढाइमा ठूलो असर परेको लालीगुराँस माध्यमिक विद्यालयका प्रधानाध्यापक कालीबहादुर महताराले बताए । ‘दुर्गम गाउँमा दूर शिक्षाको विकल्प छैन,’ उनले भने, ‘सरकारले विद्यालय नखुल्दासम्म रेडियोमार्फत विभिन्न विषयका कक्षाहरू सञ्चालन गर्न जरुरी छ ।’